
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कामको गति लिन नसकेको स्वीकार गरेका छन् । आज मंगलबार नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले भने, ‘सरकारको गति पुगेन । दुई दलीय संयन्त्रको बैठकमा होस् वा बाहिर होस् मैले भन्ने कुरा यही हो । पार्टी सभापति शेरबहादुर देउवालाई पनि यही कुरा भनिरहेको छु । प्रधानमन्त्रीलाई पनि यही कुरा भनिरहेको छु ।’
खासगरी जनतामा भ्रष्टाचारको विषयलाई लिएर ठूलो निराशा रहेको भन्दै महामन्त्री थापाले अहिलेको सरकारले देशमा कायम भ्रष्टाचारलाई सफा गर्ने काम गर्नु आवश्यक रहेको पनि बताएका छन् ।
भ्रष्टाचार सफा गर्नेक्रममा जोसुकै परोस् गलत काम गर्ने मानिसले सजाय दिएरै भए पनि नागरिकमा भरोसा पैदा गर्न सकिने उनले बताएका छन् ।
महामन्त्री थापाले भने, ‘इतिहासमा हामीले थन्काइसकेको, इतिहासमा टुङ्ग्याइसकेको, अब भयो, पुग्यो भनेर हामीले एक ठाउँमा टुङ्ग्याइसकेको विषयका बारेमा नेपाल अल्मलिने होइन । नेपालसँग त्यो सुविधा छैन । गयो अब, महाराज हिजो होइबक्सन्थ्यो, गइबक्स्यो, सकियो अब । त्यो अध्याय बन्द,’– उनले भने ।
एकथरी मान्छेहरुले नागरिकमा रहेको निराशा र असन्तुष्टिसँग खेलेर राजतन्त्रको पक्षमा गतिविधि गरिरहेको उनले बताए । आगोमा मट्टितेल हाल्ने उनीहरुको प्रयास कदापि सफल हुन नसक्ने महामन्त्री थापाको दाबी छ । अब छलफलको विषय नेपालमा नयाँ रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा हुनुपर्ने उनले बताए ।