राजनीति

रास्वपाका पूर्व महामन्त्री ढकालको आग्रह : ‘रवि लामिछानेलाई बिर्सेर नयाँ सुरुवात गरौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टी निर्माणमा नयाँ सोचसहित अगाडि बढ्नुपर्ने बताएका छन् । उनले हालै जेल चलान भएका रवि लामिछानेलाई बिर्सेर पार्टीलाई पुनः सुदृढ गर्नुपर्ने धारणा राखेका छन् ।

ढकालले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका विचारमा लामिछानेको भूमिकालाई आलोचनात्मक रूपमा प्रस्तुत गर्दै अबको यात्रा स्पष्ट उद्देश्यसहितको संस्थागत पार्टी निर्माणतर्फ हुनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्, “काङ्ग्रेस र एमालेजस्ता ठूला दलका लाखौँ कार्यकर्तासँग नडराई हामीले पार्टी खोल्ने निर्णय लिएका थियौँ । चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको प्रयोग गर्दै अघि बढ्यौँ । क्लवजस्तो संरचनालाई पार्टीको रूपमा ढाल्ने सोच थियो, तर त्यही क्रममा मलाई बाहिर निकालियो । पछि बुझियो, रवि दाइलाई कहिल्यै पनि पार्टी निर्माणमा गहिरो रुचि थिएन, उनी क्लवमै सीमित रहन चाहन्थे ।”

रवि लामिछाने ‘वर्षौँका लागि मामाघर गएका’ भन्दै ढकालले अब उनलाई बिर्सेर नयाँ नेतृत्व र सोचसहित अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

“अब क्लवबाट पार्टी बनाउनु पर्छ । रवि दाइलाई बिर्सनुपर्छ,” ढकालले लेखेका छन् । साथै, उनले काङ्ग्रेस–एमालेका कार्यकर्तासँग नडराई अघि बढेझैँ, अहिलेका ‘अरिङ्गालहरूसँग’ पनि डरिनु नपर्ने बताएका छन् ।

उनको भनाइमा, “झोले र अरिङ्गालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।” ढकालको यस्तो अभिव्यक्तिलाई पार्टीभित्रको आन्तरिक असहमति र नेतृत्वको नयाँ बहसका रूपमा हेरिएको छ । लामिछानेको अनुपस्थितिमा पार्टीको भावी दिशा कता जाने भन्नेबारेमा बहस चर्किंदै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *