काठमाडौं । नेपाली कांग्रेस निकट गणेशमान सिंह फाउण्डेशनले २०४६ सालको ऐतिहासिक आन्दोलनको स्मरणमा विचार गोष्ठी आयोजना गर्न लागेको छ। विशेष कुरा के छ भने, यो कार्यक्रममा सहभागी हुन भारतीय नेताहरू काठमाडौं आइपुगेका छन्।
कार्यक्रम चैत २५ गते (भोलि) हुनेछ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहनेछन्। नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदानू भन्ने शीर्षकमा हुने यस गोष्ठीमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता भगतसिंह कोशियारी आइतबार नै काठमाडौं आइपुगेका छन् ।
यसैबीच, बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदोरिया भने शनिबार नै काठमाडौं आइपुगेका छन्। कार्यक्रमको समन्वय कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले गरिरहेका छन्।
ऐतिहासिक प्रसङ्गसँग जोडिएको कार्यक्रम उपस्थितिमा
यो विचार गोष्ठी केवल वर्तमान राजनीति मात्र होइन, अतीतसँग पनि गहिरो सम्बन्ध राख्छ। २०४६ सालको जनआन्दोलन अघि गणेशमान सिंह निवास चाक्सीवारीमा भएको एक सम्मेलनमा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर सहभागी भएका थिए। सो सम्मेलनले गणेशमान सिंहलाई संयुक्त आन्दोलनको कमाण्डर घोषित गरेको थियो।
त्यही ऐतिहासिक घडीलाई स्मरण गर्दै कांग्रेसले भारतीय नेताहरूलाई बोलाएर पुनः विचार विमर्शको माहोल बनाउन लागेको हो। भारतीय नेताहरुको उपस्थितिमा आयोजना गरिने विचार गोष्टि कार्यक्रमले नेपाल–भारत सम्बन्धको ऐतिहासिक पक्षलाई नयाँ पुस्तामा पुर्याउन सहयोग पुग्ने कांग्रेसले विश्वासले विश्वास लिएको छ ।




