काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि तीव्र आलोचना गरेका छन्। सहकारी ठगी प्रकरणमा थुनामा रहेका पार्टी नेतृत्वमाथि उनले ‘अवसरवादी’ भएको बताएका छन् । वाग्लेलाई नेपालका लागि काम गर्न सुझाव दिदाँ विदेशी शक्तिसँग नजिक भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –देश भित्रका कुरा देशमै सेटल गर्छौँ, त्यसको लागी लड्छौ भन्नुको साटो अन्तरार्ष्ट्रियकरण गर्छौँ रे । सिधा स्पष्ट भाषामा देशलाई औपनिवेशिकरण गर्ने कुरा गरेका छन् ।
जत्रो ठूलो समस्या होस्, नेपालको समस्या नेपालीले मिलाउने हो , नेपालीले समाधान गर्ने हो । देशको सार्वभौमिकतामा बारम्बार प्रहार गर्ने स्वर्णिम वाग्लेलाई कारवाहि गरियोस् । ढकालले फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा वाग्लेलाई विदेशी संस्थासँग जोड्दै, नेपालको हितभन्दा बाहिरी शक्तिको चासोमा काम गरिरहेको दाबी गरेका छन्। उनले वाग्लेमाथि देशको सार्वभौमिकतामा प्रहार गरिरहेको आरोप लगाउँदै पार्टीभित्रै कारबाहीको मागसमेत गरेका छन्।
यस्तै ढकालले अदालतको निर्णय प्रक्रियालाई लिएर पनि कटाक्ष गरेका छन्। १८–२० वटा अदालतको गोलचक्कर भन्दै उनले न्याय प्रणालीप्रति जनमानसमा बढ्दो निराशा झल्काएका छन्।
पार्टीभित्रको आन्तरिक प्रस्तावसमेत स्मरण गर्दै उनले पुनः अपिल गरेका छन्र–वि लामिछानेको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं। ढकालको तर्कमा, लामिछानेले राजनीतिबाट पछि हटेर कानुनी प्रक्रिया सामना गर्नुपर्छ, र पार्टीले संस्थागत रूपमा अगाडि बढ्नुपर्छ।
उनको अन्त्यमा लेखिएको वाक्यले व्यक्तिगत भावनात्मक चोटसमेत देखाएको छ—शून्यमा पुर्यायौ भन्दै म थालिएको यात्रालाई शून्यबाट नै अघि बढाउने छु। रास्वपाको कारबाहीमा परेका पूर्व महामन्त्री समेत रहेका ढकाललाई पार्टीको संस्थापकका रुपमा चित्रण गर्ने गरिएको छ । रास्वपालाई मार्गदर्शन नै आफूले गर्दै आएकाले आफू रविको कारबाहीमा परेको तर राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा नपरेको उनले दाबी गर्दै आएका छन् ।
पार्टीको कारबाहीमा परेपनि उनले सामाजिक सञ्जाल फेसबुकबाट रास्वपाको भविष्यका बारेमा चिन्ता गर्दै आएका छन् । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाउन आदेश दिएपछि अहिले उनी कारागारमा छन् । यता रास्वपाभित्र भने रविको विषयलाई नै लिएर आन्तरिक विवाद सुरु भएको बुझिएको छ ।
अदालतको आदेशपछि पनि राजनीतिक प्रतिशोध भन्दै सरकारको विरोधमा विभिन्न अभिव्यक्ति सार्वजनिक गर्न थालेपछि रास्वपाभित्र दुई धार खडा भएको देखिन्छ । एक थरीले अदालतले दिएको आदेश भएकाले बोल्न नमिल्ने बताइरहेका छन् भने अर्को थरीले सरकारको विरोधमा नाराजुलुस निकाल्नुपर्ने भन्दै आक्रोशित बन्दै आएका छन् ।
सरकारले सहकारी ठगी प्रकरणमा मुछिएकाहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी उपचार गर्ने प्रतिबद्धता जनाइसकेको छ ।




