काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले न्याय गरेको बताएका छन्। सोमबार मन्त्रिपरिषद्बाट नियुक्त भएपछि मंगलबार प्रतिक्रिया दिँदै उनले सरकारले पुराना अधुरा योजनाहरू पूरा गर्ने अवसर दिएको बताए।
शाक्यका अनुसार, अघिल्लो कार्यकालमा काम गर्न नपाए पनि अब बाँकी योजनाहरू पूरा गर्न आफू प्रतिबद्ध रहनेछन्। उनले भने, यदि म साढे ३ वर्ष काम गर्न पाएको भए अहिलेको लोडसेडिङको समस्या नै आउने थिएन।
शाक्यले घरायसी ग्राहकहरूका लागि लोडसेडिङ नहुने स्पष्ट पार्दै औद्योगिक क्षेत्रको लोडसेडिङलाई कम गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताए। उनका अनुसार, अहिले भारतबाट आयात गरिएको बिजुली व्यवस्थापनमार्फत लोडसेडिङ हटाइएको छ। उनले भने, घरघरमा लोडसेडिङको समस्या आउँदैन। उद्योगमा भइरहेको लोडसेडिङ घटाउन म निरन्तर लागिरहनेछु।
शाक्यले औद्योगिक लोडसेडिङको समस्या पूर्ण रूपमा अन्त्य गर्न समय लाग्ने भए पनि १ देखि १.५ महिनाभित्र यसलाई न्यून पार्ने योजना रहेको बताए। उनले जोड दिए, लोडसेडिङ शून्य बनाउन नसके पनि न्यूनतममा झार्ने मेरो प्रमुख लक्ष्य हो। अहिलेको अवस्थामा केही महँगो भए पनि विद्युत् आपूर्ति सुनिश्चित गर्न म प्रयासरत छु।




