काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म विभिन्न २० वटा वाणिज्य बैंकहरूले फागुन मसान्तसम्म ६० खर्ब ३७ अर्ब चार करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने सर्वसाधारणबाट उठाएको पैसाबाट फागुन मसान्तसम्म ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ ऋण दिएका छन् ।
बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.२९ प्रतिशत कायम छ । नेपाल राष्ट्र बैंकले यस्तो रेसियो ९० प्रतिशतसम्म कायम गर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । बैंकहरूले अझै पनि साढे ६ अर्ब रुपैयाँ ऋण लगानी गर्न सक्छन् । तर, बैंकहरूले यसअघि दिएको ऋण समयमा उठाउन नसक्दा अहिले ऋण लगानी गर्न सक्ने अवस्थामा देखिएको छैन ।
नेपाल बैंकर्स संघका अनुसार, १० महिनाको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी सुस्तरूपमा बढ्दै गएको छ । चालु वर्षको भदौसम्म ५७ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले फागुनसम्म आइपुग्दा दुई खर्ब ४८ अर्ब ४७ करोड रुपैयाँले बढाएर ६० खर्ब ३७ अर्ब चार करोड रुपैयाँ पु¥याएका हुन् । तर, भदौको तुलनामा असोजमा निक्षेप संकलन घटेर ५९ खर्ब २२ अर्बमा झरेको थियो ।
त्यस्तै, असोजको तुलनामा कात्तिकमा घटेर निक्षेप ५९ खर्ब तीन अर्बमा झरेको थियो । तर, कात्तिकको तुलनामा मंसिरमा बढेर ५९ खर्ब ३७ अर्ब पुगेको थियो । त्यसपछि लगातार निक्षेप संकलनमा सुधार देखिएको छ । पुसमा ५९ खर्ब ८७ अर्ब, माघमा ५९ खर्ब ९७ अर्ब निक्षेप संकलन भएको थियो ।
त्यसैगरी भदौको तुलनमा असोज र कात्तिकमा ऋण लगानी घटेको छ । भदौमा ४६ खर्ब ८१ अर्ब, असोजमा ४६ खर्ब ७९ अर्ब र कात्तिकमा ४७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । त्यसपछिका तीन महिना पुस, माघ र फागुनमा ऋण लगानी लगातार बढ्दै गएको छ । पुससम्म ४८ खर्ब १५ अर्ब, माघसम्म ४८ खर्ब २७ अर्ब र फागुनसम्म ४८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।




