काठमाडौं। डा.सिके राउत नेतृत्वको जनमत पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएको छ। पार्टीले उपाध्यक्ष ई.दीपक साहलाई स्पष्टीकरण सोधेको घटनाले आन्तरिक कलहलाई सामाजिक संजालमार्फत बाहिर ल्याएको छ । सामाजिक सञ्जालमा साहको समर्थनमा प्रतिक्रिया आउन थालेपछि अध्यक्ष राउतले पनि फेसबुकमार्फत प्रतिउत्तर दिएपछि जनमत पार्टीको आन्तरिक द्वन्द्वले उग्ररुप लिएको हो ।
जनमत पार्टीले उपाध्यक्ष साहमाथि पार्टीभित्र गुटबन्दी गरेको, वरिष्ठ उपाध्यक्ष बन्न अन्य पदाधिकारीलाई पाखा लगाउन खोजेको, र चुनावमा पार्टीका लागि सक्रिय भूमिका नखेलेको आरोप लगाएको भन्दै पार्टीभित्र असहमति र असन्तुष्टि चुलिदैँ गएको छ । पार्टीको निर्णयपछि सामाजिक सञ्जालमा साहको समर्थनमा व्यापक विभिन्न दृष्टिकोणबाट प्रतिक्रिया आएका छन् । अध्यक्ष राउतले सामाजिक संजालमार्फत सवाल जवाफ सार्वजकि गरेपछि दुबै पक्षमा अहिले विभिन्न कोणबाट आरोप तथा प्रत्यारोप सार्वजनिक भइरहेका छन् ।
सामाजिक अभियन्ता सरोज रायले साहको योगदानलाई पार्टीले नजरअन्दाज गर्न नहुने भन्दै टिप्पणी गरेका छन्। सञ्जीवकुमार जयसवाल लगायत समर्थकहरूले उपाध्यक्ष साहकै नेतृत्वमा जनमत पार्टी गठन भएको र उनलाई कारबाही गर्नु अन्यायपूर्ण भएको बताएका छन्।
सो विषयमा अध्यक्ष सिके राउतले सामाजिक सञ्जालमार्फत साहमाथि गम्भीर आरोप लगाएका छन्। साहमाथि चुनाव प्रचारमा भूमिका नखेलेको र पार्टीलाई साथ नदिएको आरोप लागएको भन्दै नेता तथा कार्यकर्ता लगायत शाहले अध्यक्ष राउतको जवाफमा विभिन्न टिक्काटिप्पणी गरेका हुन् ।
शाहले पार्टी अध्यक्षविरुद्ध उनकी पत्नीलाई प्रहरीमा उजुरी दिन लगाएको दाबी छ । गुटबन्दी गर्दै अन्य नेताहरूलाई पाखा लगाउन आरोप लगाउन खोजेपछि पाटीभित्रको विवाद झन् चर्किएको छ । अझ थप सो विषय सामाजिक संजालमा सार्वजनिक हुदैँ गए जनमत पार्टीमा नेतृत्व संकट आउने संकेत देखिएको छ। साहलाई समर्थन गर्ने समूहहरू असन्तुष्ट छन्, जसले पार्टीभित्र गुटबन्दी बढाउने सम्भावना छ। अध्यक्ष राउतले सो विवाद मिलाउन नसके पार्टी फुट्ने सम्भावना समेत देखिन्छ ।
सामाजिक सञ्जालमा भइरहेको बहसले जनमत पार्टीको छवि र नेतृत्व क्षमतामै असर पर्ने निश्चित देखिएको छ । जनमत पार्टीभित्रको विवाद नेतृत्व संकटको संकेत हो। यदि सहमति खोज्ने प्रयास नगरे पार्टी विभाजनको खतरासमेत थप बढ्दै जानेछ ।




