देश

गोरखा भर्ती र पेन्सन विभेद समाधानका लागि कूटनीतिक पहल गर्छौं : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । उनले गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

उनले प्रजातन्त्र स्थापना र पुनः स्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

सभापति देउवाले भने ‘नेपाल भूतपूर्व सैनिक संघमा साथीहरूको समस्या नभएको होइन । यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरूको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुन्छ । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’

सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुने जिकिर गरे । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *