देश

प्रधानमन्त्री ओलीद्वारा शिक्षकमाथि असहिष्णु टिप्पणी, महासंघको कडा आपत्ति

काठमाडौं।नेपाल शिक्षक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाट नेपाली शिक्षक समुदायमाथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय रहेको पनि जनाएको हाे।

​‘नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदायमाथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’विज्ञप्तिमा भनिएको छ,‘देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षक माथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय कुरा हो, हामी यो अभिव्यक्तिको कडा विरोध गर्दछौं।’

महासंघले आगामी दिनमा नेपाली शिक्षक/कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न सम्बन्धित सबैलाई चेतावनी समेत दिएको छ।

फागुन १३ गते प्रधानमन्त्री ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा सम्बोधन गर्दै शिक्षकहरूले कक्षाकोठामा गुणस्तरीय शिक्षा/ज्ञान दिन नसकेको भन्दै आक्रोश पोखेका थिए।

उनले भनेका थिए,‘म ग्यारेन्टीका साथ भन्छु हाम्रो युवा पुस्ता बुद्धु छैनन्, टयालेन्ट छन् तर राम्रो पढाउन सक्दैनौँ, सुविधा दिँदैनौँ, ज्ञान सम्प्रेषण राम्रो गर्न सक्दैनौँ। त्यो कमजोरी विद्यार्थीलाई बोकाउने?,तीन घण्टा धाएर स्कुल गएको छ, कहिले शिक्षक छैनन्, कोही निरीक्षणमा जाँदैन र एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुन्छन्,अस्थायी र करारलाई स्थायी गरिदेऊ भनेको छ, तलब पुगेन बढाऊ भनेको छ, किन तलब बढाउने ?, ४८ प्रतिशत पास गर्न ?,५२ प्रतिशत फेल गर्न?।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *