काठमाडौं। आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि सत्तारुढ दल नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी कमाण्डर तोकेको छ। पार्टीले भातृ संगठन नेपाल विद्यार्थी संघबाट उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर नियुक्त गरेको हो।
चार प्रदेशमा पदाधिकारी र तीन प्रदेशमा केन्द्रीय सदस्यलाई चुनावी कमाण्डर तोकिएको छ। सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी, चन्द्र भण्डारीलाई लुम्बिनी, जीवनबहादुर शाहीलाई कर्णाली र एनपी साउदलाई सुदूरपश्चिममा चुनावी कमाण्डर तोकिएको छ।
चुनावको संयोजन र व्यवस्थापनका लागि महामन्त्री विश्वप्रकाश शर्मा र पार्टी कार्यालय संयोजनका लागि नानु बास्तोलालाई जिम्मा दिइएको छ। महामन्त्री शर्माले स्ववियु चुनावलाई ध्यानमा राखेर ७ प्रदेश र ७७ जिल्लामा सर्कुलर पठाएका छन्।
चैत ५ गते देशभरका क्याम्पसमा स्ववियु चुनाव हुँदैछ, जसमा ६२ आंगिक क्याम्पस र १,०४० सम्बन्धन प्राप्त कलेजमा मतदान हुनेछ। ०७९ सालमा उपत्यकाका केही ठूला क्याम्पसमा विद्यार्थी झगडाका कारण चुनाव हुन सकेको थिएन।




