
नेपालमा प्रत्येक वर्ष फागुन ७ गतेका दिन प्रजातन्त्र दिवस मनाउने परम्परा छ । यो दिन ज्ञात, अज्ञात सहिदहरुलाई सम्झदैँ प्रजातन्त्रको महत्व र उपलब्धिलाई सम्झने दिन हो ।
बि.स २००७ साल फाल्गुण ७ गते, १०४ वर्षीय जहानीय राणा शासनलाई अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिन हो । राणाहरूको वंशीयतन्त्रको अन्त्य गर्दै मुलुकमा जनताको अधिकारमा आधारित शासनको स्थापना भएको दिन फाल्गुण ७ भएकाले नेपालमा यस दिनलाई विशेष महत्वका दिनका रुपमा लिने गरिन्छ ।
केवल इतिहासको सम्झना मात्र नभएर, नेपालको समृद्धि र लोकतन्त्रको वर्तमान र भविष्यका लागि प्रतिबद्धता जनाउने अवसर पनि हो फाल्गुण ७ गते । प्रजातन्त्र दिवस मनाउँदै गर्दा हामीले प्राप्त गरेका उपलब्धिहरूको मूल्याङ्कन गरेर मात्र पुग्दैन् । वर्तमान चुनौतीहरूलाई चिर्दै भविष्यको बारेमा सोच्ने बेला आएको छ ।
प्रजातन्त्र भनेको केवल चुनाव र सरकार गठन मात्र नभई नागरिकलाई अधिकार र स्वतन्त्रता दिनु हो। नेपालको प्रजातान्त्रिक व्यावस्थाले अहिले पनि अस्थिरता, राजनीतिक द्वन्द्व, भ्रष्टाचार र असमानताका चुनौतीहरूको सामना गरिरहेको छ । यी चुनौतीहरुलाई चिर्दै देशलाई अघि बढाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्नुको विकल्प छैन् ।
प्रजातन्त्र भनेको सबैलाई समान अधिकार र अवसरको सुनिश्चितता प्रदान गर्नु हो। शिक्षा, स्वास्थ्य, रोजगार, र सामाजिक न्याय जस्ता जनताका आधारभूत अधिकारहरूलाई समाहित गर्नु प्रजातन्त्रको साँचो लक्ष्य हो। यस्ता सुधारहरूको सुनिश्चितता गर्न सबैले एकअर्कालाई सहयोग गर्नु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले नेपाललाई आत्मनिर्भर र अन्तराष्ट्रिय रुपमा प्रतिपस्र्धा गर्ने सक्ने क्षमतालाई मध्यनजर गरी अघि बढेमा मात्र नेपालको गौरवमा थप गरिमा बढाउन सकिन्छ ।
आजको प्रजातन्त्र दिवसमा हामीले केवल उपलब्धिहरूलाई मात्र नसम्झी असफलताहरूको मूल्याङ्कन समेत गर्नुपर्ने बेला आएको छ । प्रजातन्त्रको जग गहिरो र बलियो बनाउन सबैले आफ्नो कर्तव्य र दायित्व भुल्नु हुँदैन् । जहाँ हामी सबै नेपालीलाई समानता र अधिकारको सम्मान दिने वातावरण बनोस् ।
७५ औँ प्रजातन्त्र दिवसको शुभकामना !!