
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संविधान खारेज गर्ने पक्षमा रहेको भन्दै दिएको अभिव्यक्तिको नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिवाद गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले एमाले संविधान बनाउने पार्टी भएकाले सुदृढ गर्ने पक्षमा रहेको उल्लेख गर्दै प्रचण्डको अभिव्यक्तिप्रति प्रतिवाद गरेका हुन् ।
सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिका बारेमा प्रचण्डलाई सवाल जवाफ फर्काउँदै भट्टराईले ‘एमाले र कांग्रेस संविधान खारेज वा च्यात्ने नभई संरक्षण पर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले भने ,‘हामी सबै दलको समर्थन जुटाएर २०८४ को निर्वाचनअघि नै संशोधन गर्छौँ । अहिले आन्तरिक गृहकार्य सुरु भइसकेको छ ।’
एमाले सांसद भट्टराईले नेपालमा अब कुनै विद्रोहको खाँचो नभएको भन्दै देशमा सुशासन भित्र्याउने अभिव्यक्ति दिन योग्य हुने भन्दै प्रचण्ढलाई संस्कारीक शब्द प्रयोग गर्न समेत सुझाव दिए ।
प्रचण्डलाई योगेश भट्टराईले अब संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा कुनै विद्रोह ,क्रान्ति गर्छु,आन्दोलनमा जान्छु भन्ने कुरा इमोशनल ब्ल्याकमेलिङ भएको भन्दै स्पष्ट पारे । प्रचण्डले बारम्बार सत्तामा जान नपाएपछि जनतालाई र राजनीतिक दलहरुबीच विभिन्न अलोकतान्त्रिक शब्दको प्रयोग गर्दै आएका थिए । सो विषयलाई समेत स्पष्ट हुने गरी भट्टराईले जनतालाई समेत स्पष्ट हुने गरी प्रचण्डलाई सवाल जवाफ फर्काए ।