राजनीति

महामन्त्री गगन भन्छन् – निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति काँग्रेस नरहने बताएका छन् ।सोमवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए । उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट गर्न नसक्ने बताए । त्यसो गरेको खण्डमा काँग्रेस नरहने उनको चेतावनी छ ।

निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको बताए । त्यस्तो हुन सके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताए ।

उनले भने ‘०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ । त्यो कामको श्रेय पाउने गरीकन जाने हो । ०८४ को चुनाव यति त लेखेर राख्नुहोला । कुनैबेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनैपनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट अब कसैले गर्न सक्दैन ।

जसले गर्छ त्यो काँग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो । त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन ।’

महामन्त्री थापाले निर्वाचनको बेलामा काँग्रेसको विरुद्धमा जो पनि जोसँग पनि मिल्नसक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *