काठमाडौं । घुस मोलतोल गरेको आरोपमा एक जना ट्राफिक प्रहरी महानगरीय ट्राफिक प्रहरी महाशाखाको छानविनमा परेका छन् । महाशाखाले ट्राफिक प्रहरी जवान रोशन श्रेष्ठमाथि विभागीय छानविन अघि बढाएको हो । ट्राफिक प्रहरी श्रेष्ठले नयाँ बजारस्थित एक ग्यारेज संचालकमाथि धम्कीको शैलीमा घुस मागेको आरोपमा उनीमाथि महाशाखाले अनुसन्धान अगाडी बढाएको हो । अनुसन्धानमा तानिएका श्रेष्ठमाथि बर्दिको आडमा अशुली र हशुरी धन्दा चलाएको आरोप लागेका छ ।
बिलबुक नभएको स्कुटर किन धोएको भन्दै श्रेष्ठले शुरुमा ग्यारेजका संचालकलाई धाकधम्की दिएको प्रत्यक्षदर्शीले बताएका छन् । नयाँ बजारको इन्द्रायणी मन्दिर नजिक मूल सडकभन्दा केही भित्र रहेको ग्यारेजको कम्पाउण्डभित्र ग्राहकको स्कुटर धुँदै गरेका संचालकसँग त्यसपछि उनले बार्गेनिङ्ग गर्न थालेको स्रोतले जनाएको छ ।
ट्राफिक प्रहरीले घिसार्दै बिष्णुमति करिडोरको सडकसम्म पुर्याएर ह्विल लक गरी पैसा मागेको स्रोतले जनाएको छ । सिपाही श्रेष्ठले १ हजार दिनुपर्ने अन्यथा २ हजार जरिवानाको चिट काट्ने भन्दै धम्क्याएर रकम अशुलेको ग्यारेज संचालकले बताए । त्यसपछि लगत्तै उनले ट्राफिक महाशाखाका फिल्ड अधिकृत इन्स्पेक्टर विकास थपलियालाई घटनाबारे जानकारी गराएका थिए ।




