राजनीति

वर्षमानको अनौपचारिकताप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रका नेता वर्षमान पुनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । एमाले महासचिव पोखरेलले अध्यादेशमा सहयोग गर्न आफूलाई फोन गरेको भन्दै सो अभिव्यक्ति सार्वजनिक गरेपछि पोखरेलले वर्षमानको अनौपचारिकताप्रति असन्तुष्टि पोखेका हुन् । पोखरेलले राजनीति कुरा गर्ने योजना भएको भए माओवादी अध्यक्ष प्रचण्डसँग गर्ने सक्ने उल्लेख गर्दै नेताहरूका बीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गरेपछि पोखरेलले पुनप्रति असन्तुष्टि जनाएका हुन् ।

‘नेताहरूका बीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ । अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन, उनले सामाजिक संजालमा लेखेका छन् ।

‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर, त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने कुरा हो । जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रेषित समाचार पूर्णतः फरक पनि छ । तर, अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिनँ’, पोखरेलले भनेका छन्,‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो संक्रमणकालीन न्यायको विषयमा ।’

पोखरेलले विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अब पुनः त्यही काम गर्नु उचित हुँदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो भएको बताएका छन् । उनले लेखेका छन्, ‘वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *