राजनीति

कांग्रेसले जिल्ला सभापति र उपसभापतिहरूलाई पाँच नयाँ सदस्य भर्न सुझाव, चुनाव चिह्नमा भोट हाल्न आग्रह

काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशन र २०८४ को निर्वाचनलक्षित पोखरामा केन्द्रीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। प्रदेश र जिल्लाका सभापति तथा विभाग प्रमुखहरुलाई दिइएको यस प्रशिक्षणमा केन्द्रीय नेताहरूले संगठन निर्माणमा जोड दिएका छन् भने, कांग्रेस सरकारमा रहँदा भएका विकास निर्माणका कार्यहरूको सन्देश जनतासम्म पुर्याउन तल्लो तहका नेतृत्वलाई सुझाव दिएका छन्।

पार्टी संगठन सुदृढीकरण अभियानमा केन्द्रित कांग्रेसले आगामी रणनीतिहरू तय गर्न र तल्लो तहबाट संगठनको स्थितिबारे जानकारी लिन पोखरामा सातै प्रदेशका सभापति र ७७ जिल्लाका प्रशिक्षण शाखा प्रमुखहरुलाई भेला गरेको हो। सोमबार शुरु भएको अभिमुखीकरण कार्यक्रममा पार्टीको संगठन बलियो बनाउने तरिका र पार्टी नीतिका विषयमा कार्यकर्ता तहलाई प्रविधिको उपयोग गर्ने विषयमा चर्चा भएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सदस्यता, संगठन निर्माण र समसामयिक राजनीतिका विषयमा प्रशिक्षण दिएका छन्। प्रशिक्षणका क्रममा विगतका निर्वाचनमा देखिएका कमजोरीहरूको समीक्षा गर्दै नेतृत्वले अन्तर्घातको समस्यालाई समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ।

जिल्ला सभापति र उपसभापतिहरूलाई गृहजिल्लामा फर्किएपछि कम्तीमा पाँच जना नयाँ सदस्य भर्न सुझाव दिइएको छ, जसमा दुईजनालाई कांग्रेसको चुनाव चिह्नमा भोट हाल्न प्रेरित गर्नुपर्ने जोड दिइएको छ।

तर, तल्लो तहका नेताहरूले पार्टी कमजोर हुनुको दोष केन्द्रीय नेतृत्वमाथि राखेका छन्। नेतृत्वले संगठन निर्माणमा ध्यान नदिएको, गठबन्धनका समयमा तल्लो तहका आवाजलाई बेवास्ता गरेको र वर्तमान सरकारका विषयमा जनतासम्म स्पष्ट जवाफ नपुगेको गुनासो उनीहरूले गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *