देश

मन्त्रीको गाडीलाई साइड नदिएको आरोपमा ३ ट्रक चालकलाई कारबाही, सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप

कपिलवस्तु। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ वटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ। मन्त्री कार्कीको गाडीलाई साइड नदिएको भन्दै हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा तीव्र गतिमा गइरहेको मन्त्रीको गाडीको बाटो रोक्ने ट्रक चालकहरूलाई कारबाही गरिएको हो।

पुलिसले प्र १०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरका गाडीका चालकहरूलाई ५ सय रुपैयाँ जरिवाना गरेको छ। मन्त्री कार्कीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

तर, ट्रक चालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन्। “हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबरजस्ती जरिवाना तिरायो,” चालक दिलबहादुर कटुवालले गुनासो गरेका छन्।

मन्त्री कार्की भैरहवामा आयोजित जनस्वास्थ्य कार्यक्रमको लागि हिँडेका थिए। मन्त्रीको गाडी तीव्र गतिमा चलिरहेको प्रत्यक्षदर्शीहरूको भनाइ छ। मन्त्रीका पीएसओ खत्रीका अनुसार, ट्रक चालकहरूले गाडीको भिडियो बनाइरहेका थिए र हर्न बजाउँदा सडक जाम गर्न थालेपछि कारबाही सिफारिस गरिएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *