राजनीति

अहिले मुलुकका लागि कांग्रेसबाहेक अरूको विकल्प छैन: प्रवक्ता महत

रुपन्देही। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमा फैलिएका गलत सूचनाहरूले वास्तविक सूचना ओझेलमा परेको उल्लेख गर्दै यसका कारण स्थापित दलहरूप्रति अनावश्यक आरोपहरू लागिरहेको बताएका छन्।

कार्यकर्ता भेटघाट कार्यक्रममा महतले भने, “सामाजिक सञ्जालमा मिथ्या जानकारीको प्रसार बढ्दै गएकोले यसलाई नियमन गर्न अत्यन्त आवश्यक छ।” उनले सामाजिक सञ्जालको प्रभाव विशेष गरी युवामा बढिरहेको बताउँदै यसले सत्य र झुटको बीचमा भ्रम सिर्जना गर्ने गरी काम गरेकोमा चिन्ता व्यक्त गरे।

महतले सामाजिक सञ्जालले समाजमा नकारात्मक सोच फैलाएको भन्दै, त्यसलाई सकारात्मक सोचको विकासमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

पार्टीको भविष्यका बारेमा चर्चा गर्दै महतले भने, “अहिले मुलुकको लागि कांग्रेसबाहेक अरूको विकल्प छैन। कांग्रेसलाई छोडेर जानुपर्ने कुनै कारण छैन।” उनले पार्टीभित्रका समस्याहरूको समाधान खोज्नका लागि सबैलाई केन्द्रित भएर काम गर्नुपर्ने बताएको उल्लेख गरे।

पूर्वमन्त्री महतले समानुपातिक निर्वाचन प्रणालीको सन्दर्भमा पनि कुरा गर्दै भने, “यो प्रणाली नबदल्दासम्म कुनै पनि दलले एकल बहुमत ल्याउन सक्दैन। यसलाई सुधार गर्न संविधान संशोधनको सहमतिसहित काँग्रेस र एमालेको सरकार बनाइएको हो।”

२०७४ को निर्वाचनमा पार्टीको आफ्नै चुनाव चिन्हमा भाग लिँदा पार्टीभित्रको घात र अन्तरघातका कारण नराम्रो परिणाम भोग्नु परेको स्मरण गर्दै महतले भने, “त्यो अनुभवलाई ध्यानमा राख्दै २०७९ को निर्वाचनमा अरु दलहरूसँग गठबन्धन गरिएको थियो, जसले राम्रो परिणाम दिन सफल भयो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *