राजनीति

“शेखर कोइरालाको टिप्पणी: ‘दुई तिहाइ आवश्यक छैन, अध्यादेश निरंकुशताको पहिलो कदम”

विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि सबै दलहरूको सहमति आवश्यक रहेको बताए।

उनले भने, “संविधान भनेको केवल कांग्रेस र एमालेको कुरा होइन। कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला, तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबै दलसँग सहमति गरेर मात्र संशोधन गर्न सकिन्छ।”

कोइरालाले संविधान सबैलाई स्वीकार्य हुनु पर्ने आवश्यकतामा जोड दिँदै दुई तिहाइको समर्थन पुर्‍याएर मात्र संशोधन गर्न चाहिने भनाइलाई गलत ठहराए। “संविधान संशोधनका लागि दुई तिहाइ पुर्‍याएर गर्दिन्छौं भन्नु गलत हो,” उनले स्पष्ट पारे।

संविधान संशोधनको विषयमा अहिले कांग्रेस र एमालेबीच केही छलफल भएको भन्दै उनले सबै दलको सहमति बिना कुनै निष्कर्षमा पुग्न नसकिने उल्लेख गरे।

त्यसैगरी, उनले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएकोसमेत बताए। “अध्यक्षले अध्यादेश ल्याउनु भनेको केवल देश चल्न नसकेको अवस्थामा मात्र गर्नुपर्छ,” उनले भने।

नेता कोइरालाले अहिलेको अवस्थामा कांग्रेस र एमालेको बहुमत रहेको जिकिर गर्दै, “कांग्रेस र एमालेसँग बहुमत छ भने, ऐन बनाउन दुई तिहाइ चाहिँदैन,” भने। उनले अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप भएको र यसलाई गलत ठानेका छन्।

“अब संसद बोलाइसकिएको छ, त्यसैले अध्यादेशबाट देश चलाउनु निरंकुशताको एक कदम हो, र यो गर्नु गलत कुरा हो,” कोइरालाले थपे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *