
काठमाडौं । प्रमूख प्रतिपक्ष दलहरुले अध्यादेश र हिउँदे अधिवेशनको विषयलाई लिएर सरकारको आलोचना गरिहरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि संसद् खुलाएर अध्यादेश पेश गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले दुई महिनासम्म देशका कामहरू रोक्ने सरकारको लक्ष्य नभएको उल्लेख गर्दै छिटो छरितो रुपमा काम सम्पन्न गर्नका लागि सरकारले अध्यादेश जारी गरेको बताएका छन् ।
सरकारले जारी गरेको अध्यादेश अबको १५्/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले दाबी गरेका छन् । सरकारले जारी गरेको अध्यादेशका बारेमा सत्ताप्रतिपक्ष दलहरुले विरोध जनाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अबको १५÷२० दिनमा संसद खुलाएर पहिलो दिनै अध्यादेश जारी गर्ने बताए । संसद खुलेको पहिलो दिन सो विषयमा वृहत छलफल हुने प्रधानमन्त्री ओलीको दाबी छ ।
देशमा विकासको गतिलाई तिव्रता दिने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । एउटा देशको दुई महिना भनेको महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अत्यन्त जरुरी कुराहरू खोल्न जरुरी रहेको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानुनहरू परिवर्तन गर्नुपर्ने आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।