राजनीति

मन्त्रीलाई काँग्रेसको निर्देशनः ‘पाँच दिन मन्त्रालयको काम गर्नू, दुई दिन जनताका गुनासो सुन्नू’

काठमाडौं । हप्तामा २ दिन पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई खुला भेटघाट गर्न नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि पार्टीले यस्तो निर्देशन दिएको हो ।

‘हप्तामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।’

कांग्रेसका १० मन्त्री र २ राज्यमन्त्रीसहित १२ जना मन्त्री सरकारमा सहभागी छन् । बुढानिलकण्ठमा भएको छलफलमा सरकारलाई सफल बनाउन सक्रिय हुने र नियमित छलफल गर्ने निर्णय समेत गरिएको छ ।

यस्तो छ मन्त्रीहरूलाई दिइएको ७ बुँदे निर्देशन

१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्ने ।

३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रूपले मन्त्रालयको काममा केन्द्रित हुने ।

६) सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने

७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *