कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ । अदालत स्रोतका अनुसार आजै बेलुकासम्ममा आदेश जारी हुन सक्छ ।
देशकै कान्छा न्यायाधीश कहलिएका नितीज राईको इजलासमा थुनछेक बहस भएको हो । अदालतले रविलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश दिने छ ।
यदि रविलाई छोड्ने आदेश अदालतले दियो भने पनि उनी थुनामुक्त भने हुने छैनन् । अन्य स्थानमा पनि मुद्दा चलेकाले पुनः पक्राउ गरिहाल्ने तयारी छ ।
आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ । रास्वपा नेतारकार्यकर्ताहरू अदालत भित्रबाहिर गरिरहेका छन् । रवि लामिछाने अदालतभित्रै छन् । उनलाई अदालतको थुनुवा विश्राम कक्षमा राखिएको छ । अहिले उनकी पत्नी निकिता पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरेर बसिरहेकी छिन् । अदालत बाहिर प्रहरीले सुरक्षामा कडाइ गरेको छ । सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ छन् ।




