राजनीति

एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ,यस्ताे छ

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जनीतिक प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदनमा उल्लेख गरिएका विषयमा बहस सुरु भएको छ । आतबार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् ।

सो प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा उल्लेख गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता फैलाउने कार्य सकरात्मक नभएको बताएका छन् । उनले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टी र जनतालाई नकरात्मक असर पर्ने टिप्पणी गरे ।

अध्यक्ष ओलीले पार्टीभित्र सुशासन कायम राखी देश र जनताको हित हुने काममा लाग्न समेत नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिए । अध्यक्ष ओलीले विरोधीहरूले सरकारमाथि लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न समेत नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले एमालेमाथि लगाइएका आरोपमाथि मुख बन्दा गरेर बस्न नहुने बताए ।

यस्तै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको साझा धारणाले अस्थिरता चाहानेहरुको योजना बिफल बनाइदिएको अध्यक्ष ओलीले बताएका छन् ।

बीआरआईको ढाँचामा भएको सहमतिलाई ओलीले विश्वेष महत्वको भनेका छन्। ‘यस सन्दर्भमा हस्ताक्षर भएको बीआरआई सहयोग ढाँचाको विशेष महत्व छ,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुऱ्याउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुऱ्याउने विश्वास लिइएको छ।’

तीव्र आर्थिक विकासका लागि स्रोतको अभाव रहेको भन्दै भन्दै बीआरआईबाट लगानी भित्र्याउन सहयोग पुग्ने ओलीको विश्वास छ। ‘जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई यथासक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन हामीलाई स्रोतको अभाव छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रको सत्ता प्रवृत्तिबारे पनि अध्यक्ष ओलीले टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूसँग जादु नम्बर रहेको बताउनुलाई सत्तालिप्साको कुरुप तस्वीर भएको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

‘आफूसँग संसदभित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाँही पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैलाई पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्य मान्यताको उपहास, अस्थिरताको दुराशय एवं राजनीतिक अवसरवाद र सत्तालिप्साको कुरुप तस्वीर थियो’, प्रतिवेदनमा भनिएको छ ।

नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीले भोलिका दिनमा पनि नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन्। कांग्रेस र एमालेबीच २०७९ को चुनावमै सहकार्य गर्ने प्रयास विभिन्न कारणले सफल नभएको ओलीले स्वीकार गरे । ०७९ को चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले साथ दिएको थियो। त्यसमा ओलीले आत्मसमीक्षा गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *