काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’शुरु गरेको छ । अभियान अन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।
पार्टी सङ्गठन निर्माणमा बुधबार देखि जिल्ला समिति द्वारा १३ वटै स्थानीय तहका एक सय ३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन् । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापति बाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्र अनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।
पार्टी विधान बमोजिम तोकिएको सदस्यता सम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ ।
यसैगरी पालिका–काठमाडौं सम्पर्क समिति गठन नभएका स्थानीय तहमा उक्त समिति गठन पनि गरिने जनाइएको छ । अभियानकै क्रममा पार्टी र जनप्रतिनिधिको बीचमा संयन्त्र गठन गरिने भएको छ ।




