काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ सहकारी ठगी गर्ने अरुलाई गाली गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीले एमालेले शुक्रबार काठमाडौँको सिंहदरबारस्थि सरकारका बारेमा सकरात्म सन्देश दिन आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लक्षित कटाक्ष गरेका हुन् ।
उक्त प्रकरणमा लामिछाने पक्राउ परेपछि सरकारले राजनैतिक प्रतिसोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै सरकारविरोधी नारा लगाउदैँ आएका छन् । प्रधानमन्त्री ओली नेपालको कानुन विपरितका गतिविधि गर्ने जो सुकैलाई पनि कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता जनाए । उपत्यकाका तीन वटा जिल्ला कमिटिको समन्वयमा आयोजना गरिएको जागरण सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’ प्रधानमन्त्री ओलीले रविले विभिन्न सहकारी ठगी गरेका धेरै प्रमाणका आधारमा रविमाथि अहिले अनुसन्धान जारी रहेको बताए । उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे ।




