काठमाडौँ। राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताएका छन्।
शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको बताए।
उनले संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताए।
संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटी भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने सिटौलाको भनाइ थियो ।
उनले परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि गरिएका संकल्पहरु कति पूरा भए भन्नेबारेमा समीक्षा हुनुपर्ने बताए ।
नेता सिटौलाले स्थानीय तहलेखि संघीय सरकारसम्मै राज्य सञ्चालनका शैलीहरु परिवर्तन गर्न जरुरी रहेको बताए।




