काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी ठगविरुद्धको कारबाहीमा कडा रुपमा प्रस्तुत भएका छन् । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले छुट दिएका सहकारीमा जम्मा गरेको बचतकर्ताहरुको रकम हिनामिना गर्नेहरुलाई अहिले कांग्रेस र एमाले नेतृत्वको सरकारले धमाधम पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
देशमा देखिएको सहकारीको प्रमुख समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले मुख्य भूमिका खेलिरहका छन् । उनले देशभरीका सहकारी पीडितको फसेको रकम फिर्ता गरि दोषीलाई कानुन अनुसारको कारबाही गर्ने विषयमा प्रधानमन्त्री ओली निकै दृढ साहसका साथ अघि बढेका छन् ।
सूर्य थापा नेतृत्वको सहकारी छानबिन विशेष संसदीय समितिले रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६५ करोडभन्दा बढी रकम विभिन्न सहकारीबाट गएको निष्कर्ष निकालेपछि सरकारले देशमा सुशासन कायम राख्न सहकारी प्रकरणमा दोषी ठहर भएका पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई प्रधानमन्त्री ओलीको सक्रियतामा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
समितिले दिएको प्रतिवेदनअनुसार उनीहरूले सुप्रिम, सूर्यदर्शन, सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लगी ठगी गरेका थिए। बुधबार सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले सहकारी ठगीमा संलग्न जो केहीलाई पनि पक्राउ गरी अनुुसन्धान गर्ने विषयमा गरेको प्रतिवद्धताका आधारमा नै अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको बताए । ६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा रहेको प्रधानमन्त्री ओलीले बताए । सहकारी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने विषयमा आफु विश्वस्त रहेको प्रधानमन्त्रीले दावी गरेका छन् ।




