देश

बाढीले प्रभावित बनाएका सडकहरुको लगत सङ्कलन गरिरहेका छौँ : भौतिक पूर्वाधारमन्त्री पौडेल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र पौडेलले बाढी, पहिरोबाट नष्ट भएका भौतिक संरचनाहरुको अनुगमनका साथै लगत सङ्कलन गरिरहेको बताएका छन् । बाढीका कारण भत्किएका सडक,पक्की पुल तथा झलुङ्गे पुलहरुका बारेमा अनुसन्धान गरिरहेको मन्त्री पौडेलले बताएका हुन् । उनका अनुसार अहिलेसम्म पाँच ओटा ठूलाठूला पुलहरु भत्किएका छन् । मुख्य पाँच वटा सडकहरु अवरुद्ध भएका छन् ।

ती सडकहरुको कति स्तरसम्मको क्षति हो भनेर हेरिसकेपछि त्यसको मूल्याङ्कनका आधारमा दुई चरणमा काम गर्ने तयारी भएको उनको भनाइ छ । अहिलेको भौतिक संरचनामाथि पुगेको क्षति अवलोकन गरेर तत्काल सडकहरु खोल्ने र पुनःनिर्माणको कामलाई तिव्रता दिने तयारी रहेको उनको भनाइ छ । मन्त्री पौडेलले त्तत्काल सडक खोल्ने काम भइरहेको बताए । उनले भने,‘ नागढुङ्गा मुग्लिङ सडक हामीले १३ गते नै एकतर्फी रुपमा खोल्न सफल भएका थियौँ । बिपी राजगमार्ग चाहिँ तत्कालै खोल्ने नसक्ने स्थिति छ किनभने रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । यसोहुँदा यसलाई निर्माण गर्नका लागि चाहिँ समय लाग्छ । त्यहाँ ड्राइर्भसन निकाल्न नै समस्या छ । यसोहुँदा त्यो बाटो चाहिँ हामी दसैँ अगाडि खोल्न सक्दैनौँ होला । तर पनि प्रयत्न चाहिँ हामीले गरेका छौँ ।’

नदीको बहाव कम हुनेबित्तिकै ड्राइभसन खोलेर अस्थायी रुपमा यातायात सञ्चालन गर्न प्रयत्न गरिरहेको उनले बताए । मन्त्री पौडेलले जनताका आवश्यकतालाइ हेरेर सडक बनाउने कुरालाई उच्च प्राथमिकता दिइरहेको बताए । उनका अनुसार बाढी पहिरो प्रभावित सडक निर्माणका लागि लागि दुईदेखि तीन अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ । यस्तै देशभरिका अन्य सडकहरु निर्माण गर्न पनि २० देखि २५ अर्ब लाग्ने पूर्वानुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *