पर्यटन

घ्याङ्स्वाराको मैदानमा जीवनको सामूहिकता

केही समयदेखि सामाजिक सञ्जालमा जोडिएका साथीहरू घ्याङ्स्वाराको सहिदपार्क भन्दै फोटो सार्वजनिक गर्न थालेपछि कहाँ होला त्यो भन्ने प्रश्नले कुत्कुत्याइरहेको थियो । घ्याङ्स्वारा अर्थात् मेरा लागि बिल्कुलै नयाँ नाम । मनमा जिज्ञासा पलाएपछि त्यसको खोजी गर्न थालेँ । त्यसबारेमा थाहा पाएका केही साथीहरूलाई सोधेपछि बल्ल त्यस स्थानका बारेमा थोरै सूचना पाएको थिएँ । त्यस सूचनाले नै मलाई त्यो स्थानप्रति आकर्षण पैदा गरेको थियो । पहिले घ्याङ्स्वारा नुवाकोट जिल्लाको थप्रेक गाविसमा पर्दो रहेछ । पछिल्लो समय राज्य पुनर्संरचना गर्दा पञ्चकन्या गाउँपालिकाको वडा नं चार बनेको रहेछ । आफू नुवाकोटकै भएर पनि नुवाकोटकै त्यति राम्रो स्थानबारे अनभिज्ञ भएकोमा मलाई आश्चर्य पनि लागेको थियो ।

घ्याङ्स्वाराको बारेमा अलिअलि थाहा पाएपछि त्यहाँ जाने योजना बन्दा बन्दै कति महिना बिते थाहै भएन सायद वर्षै पो बिते कि । बनेका योजना बिग्रँदै भत्कँदै गरिरहेका थिए । यसपालि भने गज्जबको संयोग जु¥यो । सन्दर्भ राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले आयोजना गरेको वनभोज कार्यक्रम त्यहीँ गर्ने निधो भएको रहेछ । मलाई कृष्णराज खतिवडाले सूचना गरे र भने– ‘घ्याङ्स्वारा वनभोज जाने तय भएको छ जानुपर्छ’ ।घ्याङ्स्वारा मैले केही समयदेखि रुचाएको नाम । मनभित्र कुतुहलता मच्चाइरहेको शब्द । मैले तत्काले जाने निर्णय गरेँ । अब यसपालि त्यो रहर पनि पूरा हुने भयो भन्ने उमङ्गले भित्रभित्रै म रमाएँ एकछिन र तत्कालै मैले रामेश्वर अधिकारीलाई भने– ‘म पनि घ्याङ्स्वारा जाने भएँ’ । म जाने सूचनाले सायद रामेश्वर पनि खुसी भए ।

वैशाख पन्ध्र गते शनिवार त्यहाँ जाने कुरा भएको थियो । त्यसका लागि एउटा ग्रुप बनेको थियो र मलाई कृष्णले नै जोडेको पनि थिए । अब त्यो कार्यक्रमबारेका सबै सूचना मैले पनि पाउन थालेँ । त्यसले मलाई झन पुलकित र उत्साहित बनाएको थियो । शनिवार बिहान ६ः३० देखि ७ः०० बजेसम्ममा माछापोखरीमा जम्मा हुने सूचना ग्रुपबाट प्राप्त गरिरहेको थिएँ । शनिवार बिहानै उठेर नुहाएँ र रामेश्वरलाई फोन गरेँ । उनको बिहानको नित्यकर्म सकिएकै थिएन । प्रदिप घिमिरेले अघि नै फोन गरिसकेका थिए । कोठाबाट निस्कँदा नै ६ः३० बज्यो । दगुर्नेपानी पुगेपछि रामेश्वरले कृष्णलाई फोन गर्दा उनी भर्खर कोठाबाट निस्कँदै रहेछन् । अब भने हामी फुर्सदले जाने भयौँ ।

हामीलाई केही समय कुरेका प्रदिप घिमिरे भने अघि नै गइसकेका रहेछन् ।माछापोखरीमा केही मानिस मात्रै जम्मा भएका रहेछन् । कतिसँग मेरो सुमधुर सम्बन्ध थियो कतिसँग पहिलो पटक परिचय हुँदै थियो । नचिनेका मानिस पनि आज चिनेकाजस्तै लाग्दै थिए किनभने आज हाम्रो गन्तव्य एउटै थियो मनमा प्यारो लागिरहेको घ्याङ्स्वारा । नेपालीको बानी एक घण्टा ढिला भएको ख्यालख्याल । त्यहाँ पनि लगभग त्यस्तै भयो । एउटा बस सामाखुसीमा थियो । हामी माछापोखरीमा थियौँ । हामीलाई बोक्ने बस हाम्रो अघि ठिङ्गरिङ्ग उभिरहेको थियो । कृष्ण पुँडासैनीले एउटा सानो गाडीको व्यवस्था पनि गर्नुभएको रहेछ । हामीले त्यसमा चढ्ने जाँगरै चलाएनौँ । हामी बसमै जाने भयौँ ।

माछापोखरीबाट बस सामाखुसीतिर लाग्यो । त्यहाँको बस पनि खाली नै रहेछ हामी चढेकै जस्तो । सामाखुसी पुगेर केही मानिसलाई अगाडिको बसमा स्थानान्तरण गरियो । संयोगै भन्नुपर्छ अघिल्लो बसमा म्यामहरू पर्नुभयो । त्यो बस आधा घण्टा अघि छुट्यो । हामी चढेको बस हिँड्दा आठ बजिसकेको थियो ।कृष्ण, बद्री, रामेश्वर मलगायत त्यस्तै नौ दश जना थियौँ बसमा । आखिर त्यो बस नलिएको भए पनि जान सकिने रहेछ भन्ने लागिरह्यो । साना गाडीको खोजीले त्यो अवस्था सिर्जना गरेको थियो । जङ्गबहादुर सरहरू सायद कृष्ण पुँडासैनीसँग जानुुभयो कि ! डा. केदार पनि सँगै जाने कुरा थियो ।

बस गुर्जेबाट तलतिर झरेपछि रामेश्वर एकाएक उठेर क्याबिनतिर गए । उनलाई सायद वाक्क हुने समस्या थियो । ढोकाको छेउमा म एक्लै परेँ । अघिल्लो बसलाई हामीले थानाभन्जाङ्मा भेट्यौँ । त्यहाँ चिया खाजा खाने कार्यक्रम बनेको रहेछ । त्यो बसलाई हामीले चाँपको बोट पुग्नुअगावै उछिन्यौँ र अघि लाग्यौँ । थापा गाउँको मिठो चिया पसलमा चिया पिउने कुरा भएको थियो ढलानघरबाट हिँड्दा तर साँढे नौ बजिसकेकाले त्यहाँ नरोक्ने कुरा भयो थापागाउँ पुगेपछि । छहरेमा त्रिशुलीबाट आएका साथीहरू छन् भन्ने सूचना थियो । बस भद्रुटारतिर नमोडिएर सिधै छहरे झ¥यो ।

छहरेमा केदार खतिवडालगायतका साथीहरू बसिहरनुभएको रहेछ । केदार खतिवडा किस्पाङ् गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत । मेरै गाउँको भाइ । मसँगै आएर बसे । अब भने हामी भद्रुटारतिर लाग्यौँ र मध्यपहाडी लोकमार्गलाई छोडेर घ्याङ्स्वारातिर उकालो चढ्यौँ । बाटो ग्राबेल गरेको भए पनि राम्रो छ र कतैकतै ढलान पनि भइसकेको छ । घलेभन्ज्याङ् पुुग्दा दश बजिसकेको थियो । घलेभन्ज्याङ्लाई ढलानघरबाट देखेको थिएँ । अहिले त्यहाँ पुगेपछि याद भयो । आफ्नै जिल्लामा यति सुन्दर ठाउँ छ भन्ने मैले ख्यालै गरेको रहेनछु ।

घलेभन्ज्याङ्बाट बस अगाडि बढ्यो । कच्ची बाटोमा अघिल्लो गाडीले धुलो उडाइरहेको थियो । काठमाडौबाट अगाडि लागेको बस हामी साथीहरू लिन छहरे लागेपछि पुनः अगाडि लागेको थियो । धुलो उसैका कारण उडिरहेको थियो । घलेभन्ज्याङ्बाट उता बाटो बिस्तार गर्ने कार्य भइरहेको रहेछ । यसअघि बनेको बाटो साँघुरो लाग्दै थियो । बाटोको तलमाथि काफलका बोटहरू देखिरहेका थियौँ तर पाक्ने बेला भएर पनि रुखमा बाक्लो काफल देखिरहेका थिएनौँ । तैपनि म काफलप्रिय मानिस भएकाले सँगै बसेका केदार र अगाडि क्याबिनमा बसेका रामेश्वरलाई भनेँ–काफल खाँदै जाउँ बरु एकछिन ढिला भएर पनि केही हुँदैन ।

तर खै किन हो उहाँहरूले त्यति जाँगर चलाउनुुभएन । म एक्लै काफलको बोटमा चढेर बस छोड्ने कुरा पनि भएन । अलि अगाडि बढेपछि स्काइभेटरले एउटा काफलको बोट लडाएकोे रहेछ । केही म्यामहरू बडो जाँगरिलो भएर मरन्च्यासे रस नभएको काँचो काफल टिपेर खाइरहनुभएको रहेछ । काँचो काफलमा केको स्वाद हुनु ! केही सरहरूलाई पनि हाँगा पल्टाइरहेको देखेँ । मलाई भने खासै जाँगर चलेन । बाटो खुलेपछि सबै बसमा चढ्यौँ । भूबनोट हेर्दा घ्याङ्स्वारा पुग्न अब धेरै समय लाग्दैन भन्ने लाग्यो ।

बस माथि माथि उकालो चढ्न थाल्यो र एउटा सम्म स्थानमा पुग्यो । त्यहाँ लेखिएको थियो–घ्याङ्स्वारा सहिद पार्क । घडीको छोटो सुइ भर्खर दश र एघारको बिचमा थियो भने लामो सुई चाहिँ ठिक आफैँतिर तेर्सिरहेको थियो । त्यसले मौन भाषामै भनिरहेको थियो हामी साँढे दुई घण्टाको यात्रामा आइपुग्यौँ । बाटो पिच भएको भए त पौने दुई घण्टामै पुगिन्थ्यो होला सायद । सम्म मैदानबाट माथितिर हेरेँ लुङ्दर झिलिमिली भएर फर्फराइरहेको थियो । करायेँ परेको जमिन अजिङ्गर सुतेझैँ सुतिरहेको थियो ।

त्यसको छातीमा मनोरञ्जनका संरचनाहरू सजिइरहेका थिए । सोचेँ यति नबनाएको भए यस ठाउँमा मानिस किन आउँथे होला ! माथि माथि गएको केही घुमाउरो सिँढी देखेँ । सिँढीको दायाँबाया भर्खर खनेकोजस्तो आलो माटो देखिरहेका थियौँ । त्यहाँ चियाका बिरुवा रोपिएको रहेछ । सम्म मैदानबाट अलिकति माथ्लोपट्टि तेह्र जना सहिदहरूको प्रतिमा स्थापना गरिएको थियो र ती अधिकांश जनयुद्धका क्रममा ज्यान गुमाएकाहरू थिए ।

पेटले भोक लाग्यो भन्दै थियो । हाम्र लागि खाजाको व्यवस्था भइसकेको रहेछ । खाजा खाएर माथितिर उकालो लाग्यौँ । वनभोजमा आउनेहरूलाई सहज होस् भनेर केही ट्रसहरू पनि बनेका रहेछन् । हामीभन्दा माथ्लोपट्टि रणभुवनेश्वरी मावि देवीघाटबाट २०५२ सालमा एसएलसी गर्ने ब्याचीहरू पनि आएका थिए । उनीहरू पनि खाजा खाँदै थिए । अर्को टोली सहिदस्तम्भभन्दा माथ्लोपट्टि रहेछ । हामी अर्थात् रामेश्वर, बद्री र म सरासर माथितिर उकालो लाग्योँ ।

अन्दाजी तीन सय सिँढी उक्लिएपछि डाँडाको टुप्पोमा एउटा मन्दिर देखियो जो भर्खर बन्दै थियो । हामीले माथि पुगेर हे¥यौँ, भूगोलको मोहकताले मलाई भावविभोर बनाइरहेको थियो । चारैतिर तुवाँलोको साम्राज्य व्याप्त थियो । त्यहाँबाट देखिने सबै दृृश्यलाई उसले आफ्नो दृश्यहीन आँचलभित्र लुकाइरहेको थियो । हामी जे देखिरहेका थियौँ त्यही टेकेको भूगोल देखिरहेका थियौँ । त्यसैले पनि मनमा अनेक अनुुभूतिलाई आमन्त्रण गरिरहेको थियो । सबैतिर हेरेपछि लाग्यो यो चिया बगान हुर्किएपछि इलामलाई बिर्साउने छ । अझै लागिरह्यो बाटो सहज हुने हो भने यहाँ मानिसको भिड कति लाग्ला !

वनभोज सामूहिक जीवन पद्धतिको नवीन रूप हो । हामी विभिन्न तहमा सङ्गठित भएर सामूहिकताको खोजी गरिरहेका हुन्छौँ । आजको हाम्रो वनभोज पनि त्यसैको निरन्तरता थियो । साथमा थिए नुवाकोट घर भई विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्राध्यापक तथा स्वास्थ्य क्षेत्रका अधिकारी । यी सबैको साझा नाम थियो ‘राष्ट्रसेवक’ अर्थात् सरकारी कोषबाट बेतन लिनेहरू । जे होस् जिम्मेवार मानिसहरूको जमघट थियो त्यो । र हामी घ्याङ्स्वाराको मैदानमा सामूहिकताको अभ्यास गरिरहेका थियौँ ।

दिनभरि हिँडिरह्यौँ घ्याङ्स्वाराको मैदानमा तर पनि शरीर थाकेको थिएन । त्यति राम्रो स्थानलाई मोटरबाटोले पहिले नै जोड्न सकेको भए नगरकोटभन्दा बढी सायद त्यो स्थानमा चहलपहल हुन्थ्यो होला भन्ने लाग्यो । अझै होटलहरू बनेका छैनन् । परिवारसहित रात बिताउन मिल्ने होटल तथा लजहरू सञ्चालन हुने हो भने त्यहाँ थेगिनसक्नुको भिड लाग्छ भन्ने पनि लाग्यो । पानीको अभाव पनि त्यस्तै छ । सुन्दर हुँदा हुँदै पनि त्यसलाई सिँगार्न अझै धेरै मिहिनेत गर्नुपछि पर्यटकको सुविधाका लागि ।

घडीले पाँच बजेको सङ्केत गरेपछि म काठमाडौ नआएर घरतिर जाने तर्खरमा लागेँ । त्रिशुली जाने गाडीको खोजीमा थिएँ । प्रमुख जिल्ला अधिकारी कार्यक्रमस्थलबाट निस्कनुभयो । उहाँकै गाडीमा गँगटेसम्म गएँ र त्यहाँबाट सुनिल नेपाल जो बेल्कोटगढी नगरपालिकामा कार्यरत छन् उनैसँग घरसम्म गएँ । साँझ पुग्दा मन विरेचन भएको थियो । घर पुगेपछि लाग्यो मैले आज धेरै पहिलादेखिको रहर मात्रै पूरा गरिन जीवनमा देखिएका साह्रै सुन्दरस्थानमध्येको एउटा स्थान पनि देखेर आएँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *