
विजय मल्ल (वि.सं. १९८२–२०६५) बहुमुखी साहित्य स्रष्टा हुन् । उनले निकै गहकिला र मार्मिक किसिमका कविता, उपन्यास, कथा र नाटक रचेका छन् । उनका साहित्यमा आधुनिकताको सूक्ष्म सञ्चेतना पाइन्छ । उनी समाजका निमुखा, निर्धन एवम् गरिब र अन्याय अत्याचारका चपेटामा परेकाहरूलाई तिनका दुःख दर्दबाट मुक्ति दिलाई स्वस्थ, गतिशील, समतामूलक एवम् समृद्ध समाजको निर्माण गरी संसारलाई सुखी र सम्पन्न तुल्याउनुपर्छ भन्ने सामाजिक तथा मनोवैज्ञानिक स्रष्टा हुन् ।
नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक व्यक्तित्वका रूपमा चिनिन्छ । उनको जन्म वि.सं. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको हो । यिनी ऋद्धिबहादुर मल्लका साहिँला छोरा तथा गोविन्द मल्ल गोठालेका भाइ हुन् । उनले शिक्षाको हकमा आइ.एस्सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनलाई बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, फ्रान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले सेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गर्थे । बुबा ऋद्धिबहादुरले आफ्नै प्रेसबाट शारदा मासिक पत्रिका निकालेका हुँदा साहित्य लेख्ने र छपाउने क्रमलाई यिनले निरन्तता दिए ।
साहित्य लेखनमा लाग्नुको खास कारण हुन्छ । उनी यसका बारेमा यसो भन्छन्– “साहित्य चिनारी गराइ दिई मलाई प्रभाव पार्ने पहिलो व्यक्ति एक नामहीन, निसानाहीन, अहिले खोज्यो भने केही चिनोेसम्म पाइन्न, गोकुलदास (जोरगणेश प्रेसको कम्पोजिटर) थिए, जसले हामीलाई दन्त्यकथा सुनाउँथे, हामी केटाकेटी झुम्मिन्थ्याँै, पछि आफ्ना बच्चा साथी वरिपरि राखी आफैले दन्त्यकथा बनाई सुनाउन थालँे, यसरी कथा बनाउन सुरु गरँे ।”
विशेषतः यिनले नेपाली साहित्यमा कविता, नाटक, एकाङ्की, कथा, उपन्यास जस्ता विधामा कलम चलाए । सबै विधामा त्यत्तिकै सफल भए । उनका धेरै जसो रचना पाठ्यक्रममा पनि समावेश हुनुले रचना शक्तिको मूल्याङ्कन भएको भन्न सकिन्छ । यिनका लेखनमा मनोविश्लेषण गर्ने क्षमताका साथै राजनैतिक सचेतना भएका कारणले उनी उच्च सर्जकको कोटिमा दरिएका थिए ।
साहित्यको परिभाषा हामीले अनेकन व्यक्तिबाट भिन्न अभिव्यक्तिलाई ग्रहण गर्दै आएका छौँ । यसै सन्दर्भमा विजय मल्ल यसो भन्छन्– “साहित्य नाप्ने नै हो भने, त्यसको घनिभूतता सांस्कृतिक प्रभावमा पर्न जान्छ । त्यसैबाट त्यसलाई नापौँ वा नभए उनीसम्म त्यसले मानसिक प्रभुत्वलाई उचालेको छ (फगत् व्यक्तिद्वारा किन नहोस्) त्यसद्वारा नै नापाँै ।
र यसैअनुसार मेरो दृष्टिकोणमा साहित्य आनन्दको साथै चेतनालाई सर्वोच्च स्थानमा पु¥याउने हो, जसबाट मनुष्य हत्याभन्दा बढी, आत्मसंरक्षणभन्दा बढी, बह्माण्डभन्दा पनि बढी के सोच्न सकोस् भने त्यो केही हो, केही हुन्छ, केही पैदा गर्छ र केही भएर छोड्छ । मृत्यु त्यसको खुड्किलो बन्छ, के अर्थमा भने निर्माण र मुक्तिले लादिएर हैन बरु आफूमा आफँै भएर मात्र त्यो केही हुन्छ । सिर्जना कुनै तह वा कुनै प्रकारको किन नहोस् त्यो आफ्ना शरीरसम्म सीमित रहन चाहन्नँ । शारीरिक मृत्यु नाघेर जानु नै उसको श्रेय हो ।”
विजय मल्लका कवितातर्फ विजय मल्लका कविता (२०१६), कथातर्फ एक बाटो अनेक मोड (२०२६), परेवा र कैदी (२०३४), नाटकतर्फ पत्थरको कथा (२०२८), सात एकाङ्की (२०२८), दोभान (२०३४), भित्तेघडी (२०४०), सृष्टिको पर्खालभित्र (२०४०), भूलैभूलको यथार्थ (२०४१), सृष्टि रोकिदैन (२०४८), कोही किन बर्बाद होस् (२०१३), जिउँदो लास (२०१७), बहुलाकाजीको सपना (२०२८), र उपन्यासतर्फ अनुराधा (२०१८), कुमारी शोभा (२०३९) जस्ता कृतिहरू प्रकाशित छन् ।
यिनले नेपाली भाषा–साहित्यमा पु¥याएको उच्च मूल्याङ्कन गर्दै साझा पुरस्कार (२०२७), गंकी वसुन्धरा पुरस्कार (२०४९), भूपालमानंसिह कार्की पुरस्कार (२०५३) र वेदनिधि पुरस्कार (२०५६) बाट पुरस्कृत भए ।आफ्नो जीवनकालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा सह सदस्य (२०२६), सदस्य सचिव (२०३२), उपकुलपति (२०४६) साथै नेपाल लेखक सङ्घको सचिव र उपाध्यक्ष भई भाषा–साहित्यको समुन्नति गर्न क्रियाशील भएका थिए ।
साहित्यका अनेकन विधामध्ये कवितामा यिनले थोरै कलम चलाए । जति कविता लेखे उत्कृष्ट नै लेखे । उनलाई स्वच्छन्दतावादी –प्रगतिवादी कविता धाराका युगीन कविको रूपमा चिनिन्छ । गद्यलयमा लेखिएका कविता विश्वमा आतङ्क, सन्त्रास होइन, शान्ति, अहिंसा मानवताको सन्देश बोकेका कविताको मुख्य विषयवस्तु विद्रोह, क्रान्ति, शान्ति र मुक्ति नै हुन् । नवीन बिम्ब र प्रतीकको प्रयोग गर्न सिपालु मल्लका कतै–कतै व्यङ्ग्य चेतनाका भाव पनि कवितामा प्रस्तुत भएका छन् ।
कवि मल्लका छोरीलाई मानचित्र पढाउँदा शीर्षकको कविता चर्चित छ । उक्त कविता विजय मल्लका कवितासङ्ग्रह २०१६ मा सङ्ग्रृहीत छन् । ३६ ओटा पङ्क्तिहरूमा रचिएको कवितामा आमाको पीडा र युद्ध विरोधी भाव गुञ्जित छन् । भारत, पाकिस्तान, इङ्ग्ल्यान्ड, रुस, जर्मनी जस्ता देश विभाजित छन् । सबै मुलुक एउटै हुन्, विश्वलाई टुक््रयाउने कारक तŒव धर्म हो । धर्म, लिङ्ग, जातिको नाममा द्वन्द्व भएका छन् । वैमन्यस्य हटाई एक आपसमा मेल र सहकार्य गरी विश्वलाई नै एक राज्यको कल्पना गर्नु पर्दछ । संसार एउटा सिङ्गो परिवार हो भन्दै ‘वसुधैव कुटुम्बकम’ भावना विकास गर्नुपर्ने भाव खिच्दै कवितामा भारत र पाकिस्तानको सीमा झगडा, जापानको नागसाकी र हिरोसिमामा बम विष्फोट गरी भएको पहिलो र दोस्रो विश्वयुद्ध, शक्तिशाली अमेरिकाले अणुबम बनाएको युद्ध, हिंसाजस्ता सिकारबाट ग्रसित भाव प्रकट गरेका छन् ।
मान्छेको शत्रु मान्छे नै हुन् । अनुभूतिलाई प्रतीकात्मक अभिव्यक्ति दिएर लेखिएका कवितामा विश्वका मानिसहरू एक भएपछि ती रगतले कोरिएका रेखा हट्दै जाने छन् भन्ने भाव दर्साएका छन् । यसरी विश्व मानवतावादको अभिप्रेरणाबाट रचिएका कविता :
रातो रगतले कोरिएको साँध छ ।
खेतमा डील लाएझैँ
हेर, हरेक राष्ट्रका फाँटमा !
यो हो भारत, यो हो पाकिस्तान
हिन्दूमुसलमानको रगतले मुछिएको
यही हो रेखा महान् !
यो जर्मनी, यो इङ्ग्ल्यान्ड,
यो रुस, यो जापान ।
(छोरीलाई मानचित्र पढाउँदा)
नेपाली साहित्यको विभिन्न विधामध्ये कविताको विकासक्रमको सन्दर्भलाई लिएर उनी यसो भन्छन्–“आजसम्मको मेरो काव्य सिर्जनाबाट म के निष्कर्षमा पुगेको छु भने कतिपय कविहरू आफ्नो विषयवस्तुप्रति इमानदार भए तापनि उनीहरूको अभिव्यक्तिले भाषाको रूढिग्रस्त शब्दावलीलाई बदल्न नसकी छटपटाएको भान हुन्छ ।
जसरी उनीहरू आफ्ना जीवनमा छटपटाएका छन् । त्यसैले उनीहरूको अभिव्यक्तिमा वस्तुतः दुरुहतर नभए तापनि दुरुह मानिन्छ । जे उनीहरू सोच्छन्, जे उनीहरू बोल्छन्, ती सब सामयिक वस्तुस्थितिको चित्रण गरिए तापनि अन्तर्राष्ट्रिय मनोबोधद्वारा उनीहरू छटपटिएका छन् । आपूmलाई र समाजलाई नियोजित रूपमा राख्न नसकी आएका अलमल, छटपट, चिन्ता सबै एक प्रकारले अवचेतनका प्रकाश जस्ता छन्, जसले शब्दबाट अभिव्यक्ति नपाई खाली सङ्केतबाट बुझ्न बाह्य गर्छन् । यथार्थतः दुरुह भएका छन् ।”
यिनले वि.सं. १९९७ तिर नै कथा लेख्न सुरु गरेका थिए भने शारदा पत्रिकामा वि.सं. २००० मा छापिएको दश रुपियाँ कथा पहिलो हो । नेपाली समाजमा व्याप्त पुरानो सामन्ती रूढिवादी संस्कारका विरुद्ध परिवर्तन, विद्रोह र क्रान्तिको चेतना जगाउने खालका विषयवस्तु केन्द्रित कथा छन् । खास गरेर वि.सं. २००७ सालपछि काठमाडौँ उपत्यकाका जनजीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने समस्याको चिरफार गरेका छन् । उनका कथामा राजनीतिक, स्वतन्त्रता र प्रजातन्त्रको गतिविधि प्रवेश गरेका छन् । बौद्धिक विश्लेषण रहेका कथामा घटनाभन्दा चरित्रप्रधान रहेका छन् । मानिसका भित्री मनका आवेगलाई कथामा प्रस्तुत गरेका छन् भने मनोविज्ञानका नयाँ नयाँ खोज र चिन्तनको प्रयोगको थालनी गरेका छन् । तसर्थ नेपाली कथामा सामाजिक र मनोवैज्ञानिक धारा (१९९१–२०१६) का विजय मल्ल प्रसिद्ध कथाकार हुन् ।
उनले लेखेका कथामध्ये अन्तिम भोज चर्चायोग्य छ । कथाको सुरुआतमा नै पाठकको मनमा खुल्दुली जगाउँछ । १८ अनुच्छेदबाट बनेको यो कथा छोटो आयामको हुनुका साथै कथामा नाटकीय संवाद र ठाउँठाउँमा गद्य–कविता पनि मिश्रित छन् । यो कथा दोस्रो विश्वयुद्धपछिको हो । अन्तिम भोज भन्नाले अन्तिम भोज नै हो । कथामा सबै देशमा आणविक हात–हतियार पड्काउनेहरू एकै ठाउँमा जम्मा भई भोज खाई मनाउने रात्रि भोज नै मूर्खता रहेको कथाकार मल्लको भनाइ छ ।
आणविक अस्त्रशस्त्र निर्माण गर्ने ठुला देशका बौद्धिक भनिने व्यक्तिमाथि कथामा व्यङ्ग्य पनि प्रस्तुत गरिएको छ । आणविक बम–बारुद र हातहतियारका कारण मानव जीवनमा परेको हानीलाई विषयवस्तु बनाएर कथाकार मल्लले सार खिचेका छन् । ती शस्त्रअस्त्रमा रोक लगाई मानव जीवन सुखसयल पार्ने सन्देश यस कथाले दिएको छ । तसर्थ यो कथा उत्कृष्ट बौद्धिक तथा हास्यव्यङ्ग्यपूर्ण अन्तर्राष्ट्रिय कथाको हाराहारीमा दरिन पुगेको छ ।
विजय मल्लले नाटक विधामा बेसी कलम चलाए । आधुनिक नेपाली नाटकको उत्तराद्र्धको प्रयोगवादी धारा (२०२१–२०२९) का अवधिमा उनको योगदान अमूल्य रहेको छ । यिनले नाटकका यथार्थवादी र प्रयोगवादी दुवै धारामा नाटक लेखे । यिनलाई बालकृष्ण सम तथा गोपालप्रसाद रिमालपछिको अर्थात् आजको युगको प्रतिनिधि नाटककारको रूपमा लिइन्छ ।
नाटककार मल्लले नाटकमा सामाजिक, मनोवैज्ञानिक र बौद्धिक विषयवस्तुको संयोजन गरेका छन् । यी विषयवस्तुमध्ये विभिन्न सामाजिक पक्ष जस्तै ः घरपरिवारबिच, नरनारीबिच, जीवनचक्र, शिक्षा, आर्थिक पक्ष, राजनीति, धर्म र संस्कृति, व्याप्त र नैतिक मूल्य, प्रतिभा र स्वप्नद्रष्टा आदि बढी उल्लेख गरेका छन् । त्यस्तै नाटकमा पशुपन्छी र किराफट्याङ्ग्रा, कुकुर, बिरालो, मुसा, हात्ती, बोको, स्याल, बाँदर, परेवा, माउसुली, सर्प जस्ता जीवमण्डल र प्रकृतिअन्र्तगत पहाड, जङ्गल, जमिन, हावा, घाम, रुख आदिको प्रयोग गरेका छन् । मानिसका मनमा गुम्सेर बसेका भावनासँग पशुको मनोभावनासँग तुलनाको सङ्केत गरिएको छ । उनका नाटकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश व्यव्त भएको छ । उनीद्वारा लेखिएका धेरै जसो नाटकहरू मञ्चनसमेत भएका थिए ।
वि.सं. २०१८ सालमा शारदामा प्रकाशित एकाङ्की कङ्काल नेपाली समाजमा घट्ने र घट्न सक्ने घटनामा आधारित नाटक हो । उक्त एकाङ्की बहुलाकाजीको सपना नाटक सङ्ग्रहमा समावेश छ । कङ्काल एकाङ्कीले मानव र प्रेतआत्माको सम्बन्धलाई उजागार गर्न सफल भएको छ । सो एकाङ्कीमा मेडिकल कलेज कलकत्तामा अध्ययन गर्ने एक विद्यार्थीमाथि घटेको घटनाको विषयवस्तुमा केन्द्रित छ ।
मेडिकल विद्यार्थी भएका कारणले आफ्नो अध्ययनको क्रममा एक रात अबेरसम्म जुटे । सुत्ने कोठाको एक टेबुलमा मानव कङ्काललाई ओल्टाइ पल्टाइ गरे । रात बितिसकेकाले झ्याल ढोका लगाई सुत्ने तरखरमा खटियामा पल्टे । एक्कासि एक सुन्दरी युवती उत्पन्न हुन्छे । आश्चर्य मानी ती विद्यार्थी र प्रेतआत्माबिच संवाद क्रम अगाडि बढ्छ । मृत आत्माले सो कङ्काल आफ्नो भएको र युवकले इजाजत दिएमा आफ्नो कङ्काल साथमा लग्ने कुरा बताउँछ ।
नाटकको सार यस्तो छ ः ती मृतात्माको नाबालकमा एक युवासँग विवाह हुन्छ । विवाह गरेको केही समयपछि लोग्नेको मृत्यु हुन्छ । विधुवा बनेका नाबालकलाई लोग्ने टोकुवा भनेर हेपिन्छ । ऊ घरमा बस्न नसकी माइत गएर बस्छे । विधुवा नाबालिका दिनप्रति दिन युवा अवस्थामा प्रवेश हुन्छ । ती युवतीमा यौनइच्छामा तीव्र चाहन बढ्दै जान्छ । अचानक विधुवा युवतीको एक डाक्टरसँग प्रेम बस्न जान्छ । दुवैले प्रेमको प्रस्ताव एक आपसमा राख्न सक्दैनन् । समय बित्दै जाँदा डाक्टरको अर्को केटीसँग विवाह गर्ने कुरा चल्छ ।
ती विधुवाले सहन नसकी विषको धुलो डाक्टरको चियामा र आफ्नै पानीमा राखिदिन्छिन् र सोही विष खाई दुवै जनाको जीवनलीला समाप्त हुन्छ । यसरी अल्पआयुमा बितेकाले आफू किचकन्ने बनेको संवाद क्रममा व्यक्त गरिन्छ । यसरी यस नाटकमा तीव्र यौन इच्छा र बालविवाहले समाजमा पर्न गएको प्रभावको बारेमा सन्देश दिएकाले नाटक सार्थक रहेको देखिन्छ । यस एकाङ्कीमा लिपिबद्ध गरिएका संवादका केही अंश ः
ए तपाइँलाई निद्रा लाग्यो ! त्यसो भए सुत्नोस् र
पल्टेर फेरि कल्पना गर्नोस्, सपना देख्नोस् !
कस्तो कल्पना मात्र देख्ने बानी तपाइँको ? तपाइँको
कल्पना यसरी साकार भए पनि तपाइँलाई
चित्त बुझेन ? म नराम्री छ क्यारे !
सुन्नोस्, म यहाँ आफ्नो हराएको माल
लिन आएकी ।
०००
कस्तो ठट्टा गछ्र्याै ? रात धेरै ढल्किसक्यो, मैले
यहाँ कसैको माल ल्याएर राखेको छैन मेरो
आफ्नो बाहेक । भैहाल्यो, ठट्टा नगर ।
विजय मल्लद्वारा लेखिएको दोभान एकाङ्कीसङ्ग्रह उत्कृष्ट नाटकको रूपमा लिइन्छ । सो सङ्ग्रहमा दोभान, पाहुना, अन्धाको पनि अाँखा खुलेको हुन्छ, शिलाको बङ्गला र श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह गरी जम्मा पाँच ओटा एकाङ्की लघुनाटक समावेश छन् । नाटकमा सरल भाषा, संवादात्मक शैलीको प्रयोग गरी सामाजिक एवं ऐतिहासिक विषयवस्तु समेटिएका छन् । यस नाटकमा सत्यवान र सावित्रीको चर्चा गरिएको छ ।
उहिलेका राम–सीताको कुरा होइन, अहिलेको सामाजिक जीवनका जटिलतामा व्यतीत गरेका रामप्रसाद र सीताको यथार्थपरक चरित्र झल्कन गएको छ । नाटकमा कथाको सारांश पारिवारिक पृष्ठभूमि खिचिएको छ । विशेषतः लोग्ने र स्वास्नी बिचको सम्बन्धलाई उजागार गरेको छ । लोग्ने बिरामी भएको बेलामा अस्पताल भर्ना गराउनेदेखि औषधीउपचार गर्न, बुढाबुढी भएका सासूससुरालाई खानपिन तथा हेरविचार गर्न सीता तल्लीन हुन्छिन् । अलिअलि भएको पनि रकम सक्नु र आफूसँग भएको सुनचाँदी बैङ्कमा राखेर खर्च गरिनु, विरामी लोग्ने ठिक नभएपछि पैसाका लागि आफ्नो जीवन–यौवन नै धनाढ्य भनाउँदाहरू अर्थात् यमदुत, यमराजलाई सुम्पन्न बाध्य भएको घटना उल्लेख गरिएको छ ।
पुराणकी सावित्रीले आफ्नो सतीत्वको कारणले यमराजलाई खुसी पारी आफ्नो लोग्नेलाई फर्काएको र अहिले सावित्रीले आफ्नो लोग्ने र सासूससुरालाई रोग र मृत्युबाट बचाएको कथा छ ।यसरी आफ्नो परिवारमा आइपरेको जटिल समस्या सुल्झ्याउनका निम्ति सतीत्वलाई नै बन्धक बनाएकोतर्फ कथा मोडिएको छ । तसर्थ समाजमा घट्न सक्ने अर्थात् घट्दै आएको परिवेशलाई नाटकको माध्यमबाट सन्देश प्रवाह गर्न सकेको हुनाले दोभान नाटक सार्थक बनेको छ ।
दोभान जस्तै उनका पर्खालभित्र नाटक पनि उच्चकोटिमा पर्दछ । भित्तेघडी (२०४०) एकाङ्की सङ्ग्रहमा पर्खालभित्र शीर्षकको नाटक समावेश छ । यो नाटक नेपालमा वि.सं. २०२०–२०३० सालभित्रको राष्ट्रिय र सामाजिक समस्याको परिवेशसँग जोडिएको छ । नाटकले काठमाडौँदेखि भारत, थाइल्यान्ड, हङकङ, जापानसम्मका महŒवपूर्ण घटना केन्द्रित छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय माहोलमा नेपाल मुख्य अखडा भई अन्य देशमा अवैध व्यापार धन्दासँग जोडिएको छ । प्राचीन मूर्तिकला, कस्तुरी बेचबिखन गर्ने र जघन्य अपराधको घटना घटाउने जस्ता घृणित कार्यको पर्दाफास गर्न नाटककार मल्लले भ्याएका छन् । यस एकाङ्कीमा पात्र–पात्रबिच भएको संवादका केही अंश ः
म अब कति सहन सक्छु र ! सहनुको पनि त एउटा हद छ ।
मेरी छोरी शान्तिबाहेक अरू मेरो को थियो र ?
त्यत्रो विश्वयुद्धमा फगत रुपियाँको निमित्त, फगत भरौटे भएर,
फगत अरूहरूको देशका निमित्त नुनको सोझो चिताएर लडियो ।
कैयन् साथीहरूका ज्यान गए ।
म मात्र मरिनँ, फर्कें ।
घरमा सानी शान्तिलाई मिल्काएर त्यसकी आमा
अरू ठाउँमा पोइल गइसकेकी रहिछ ।
त्यही शान्तिबाहेक मेरो को थियो र !
पालेँ, पोसेँ, हुर्काएँ, अब म कसरी सहन सक्छु ?
अब तिमी नै बेपत्ता भएपछि ।
०००
जुन देशमा मूर्ति पूजामात्र हुन्छ,
कलाको इज्जत छैन, कलाको वस्तु राख्न के अधिकार !
भो छाड, काग कराइरहन्छ, पीना सुकिरहन्छु ।
हामीलाई रुपियाँसँग सम्बन्ध छ, न कि तर्कसँग ।
रुपियाँ कमाऔँ, बस् (फोनमा घण्टी आउछ, उठाउँदै) हेलो !
ए माथि पठाइदेऊ । (रिसिभर राख्दछ) गुप्ता आएको रहेछ ।
ऊ आएपछि बाहिर निस्किदिनु ।
विशेष गरेर यिनका नाटकमा गरिबीको चपेटा, सामाजिक असमानता, मानवीय पीडाले आक्रान्त बनेका अभिव्यक्तिका स्वरले प्रवेश पाएको देखिन्छ । तसर्थ आम पाठकका मन उनका नाटकले खिचेको हो भन्न सकिन्छ । उदाहरणका लागि विजय मल्लका पात्रहरू बिच उल्लेख गरिएको संवादका केही नमुना ः
फिक्री नले, अर्को सपना सिर्जना गर्छु,
गरिबीलाई संसारबाट टाढा मिल्काउँछु,
बुझिस् भक्ते ! गरिबीलाई म मिल्काइछाड्छु, पन्छाइछाड्छु ।
पन्छाउने काममा बाधा मान्छे हुन्छ भने म त्यसको दुश्मन हुन्छु,
त्यसैसित लड्छु रोकिन्नँ ।
बाधा बुद्धि हुन्छ भने बरु म सिल्लि हुन्छु, मुर्ख हुन्छु, पछि हट्तिनँ ।
गरिबीका समर्थक भएर परमेश्वरै खडा हुन्छन्
भने पनि बरू नास्तिक हुन्छु, दब्बिनँ । नरो भक्ते,
संसारले एक दिन सुखी हुनु छ, कसैले रोक्न सक्तैन ।
०००
‘हत्याद्वारा मुक्ति हुनेछ’ भन्ने सिद्धान्त आजको युगमा मान्ने हो भने
विश्वयुद्धलाई वरदान रूपमा ग्रहण गर्नुपर्ने हुन जान्छ ।
कति सजिलो हुने थियो हामी सबलाई,
यी एटम बमहरू एक पटक पड्काइदिने थियौँ
र सम्पूर्ण सृष्टिलाई एक पटक नष्ट गरिदिने थियौँ ।
अन्ततः विजय मल्लको मृत्यु वि.सं. २०५६ साल साउन ८ गते काठमाडौँमा भयो । उनको भौतिक शरीर हाम्रा सामु नरहे तापनि उनले छाडेर गएका उत्कृष्ट रचना हाम्रा सामु विद्यमान छन् । तसर्थ उनी नेपाली साहित्यमा बिर्सनै नसकिने प्रतिभा हुन् ।