काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका बहुमत सदस्यले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएपछि माओवादीमा विवाद चरमोत्कर्षमा पुगेको छ ।
सरकारमा सहभागी भएको वर्ष दिन नपुग्दै सुदूरपश्चिम प्रदेशमा माओवादीको विवाद देखिएको हो । माओवादीभित्रकै विवादका कारण प्रदेश सरकारले लामो समयसम्म पूर्णता पाउन सकेको थिएन । झन् अहिले दलको नेता नै हटाएपछि विवादले अर्को रूप लिएको छ ।
११ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले भट्टलाई हटाएर मानबहादुर धामीलाई शुक्रबार दलको नेता चयन गरेका थिए । तर अहिले पार्टी प्रदेश समितिले त्यो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । एउटा पक्षले भने मन्त्रीलाई समेत फिर्ता बोलाउने तयारी गरेको छ ।
खगराज केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । कांग्रेससँगको सहमतिअनुसार पालैपालो सरकार चलाउँदा भट्ट वेटिङ चिफ मिनिस्टर हुन् । तर सभामुख भीम भण्डारीसहितको अर्को पक्षले धामीलाई मुख्यमन्त्री बनाउन दलको नेता फेरेको छ । यसलाई माओवादीमा संघीयता कार्यान्वयनको चरम उदाहरण मानिएको छ ।




