देश

प्रचण्डले एकै दिन दिए तीन निर्देशन, पहिलेका निर्देशन सबै अलपत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै दिन तीनवटा निर्देशन दिएका छन् । विगतमा दिएका निर्देशन कार्यान्वयन हुन नसके पनि प्रचण्डले निर्देशन दिन भने छाडेका छैनन् ।

सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका प्रतिनिधिलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । एकै दिन धेरै निर्देशन दिइएपछि अहिले सामाजिक सञ्जालमा प्रचण्ड प्रधानमन्त्री होइन, निर्देशक हुन् कि भन्दै टिप्पणी उठेको छ ।

प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए।

प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएको उनको सचिवालयले बताएको छ।

प्रचण्डले बुधबार नै सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरूलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिएका थिए।छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए।

यस्तै, प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गुनासो बढ्न थालेको बताउँदै जनतालाई अनावश्यक हैरानी नदिन निर्देशन दिएका छन्। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा नागरिकहरूलाई सहज वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन्।

‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला,’ प्रचण्डले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *