देश

वीरगन्जका मेयर सिंहको नक्कली बाबु प्रकरणः सिडिओ कार्यालयबाटै प्रमाण गायब

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्ते गरी युवतीलाई नागरिकता दिलाएको प्रकरण झन् पेचिलो बन्दै गएको छ । नागरिकता पाउन पेस गरिएका प्रमाणहरू जिल्ला प्रशासन कार्यालय पर्साबाट गायब भएसँगै यो प्रकरण पेचिलो बन्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालकै बेला उक्त प्रमाणहरू गायब गरिएको चर्चा छ । मेयर राजेशमान सिंह श्रेष्ठको ठेक्कापट्टाका पूर्वसहकर्मी एवं छिमेकीसमेत रहेका नुरेनबी ठकुराइले उक्त नागरिकता पाउन पेस गरिएका प्रमाणका प्रतिलिपिहरू माग गरेपछि सूचना गायब गरिएको समाचार स्रोतको दाबी छ ।

‘ठूलो रकमको चलखेलमा अनुसूची फारम र जन्म दर्ताको प्रमाणहरू गायब गरिएको हो । यसो त त्यस बेला १० लाख रुपैयाँको चलखेल भएको चर्चाले जिल्ला प्रशासन कार्यालय तरंगित भएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो ।

वीरगन्ज महानगरपालिका–३ बस्ने नुरेनबी ठकुराइले २०६९ मंसिर ११ गते सूचना पाउन जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका थिए । सूचनाको प्रतिलिपि ऐन ७ को २ बमोजिम सूचनाको हक पाउन पेस गरिएको निवेदनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले तोक लगाएपछि दर्ता गरिएको थियो ।

वीरगन्ज महानगरपालिका– ३ बस्ने राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट सनाखत गरी कति जनालाई नागरिकता दिलाएको र उनका कति जना छोराछोरीहरू छन् र कतिजना छोराछोरीलाई उनले नागरिकता दिलाएको भन्दै सूचना माग गरिएको छ । साथै, सबै नागरिकता लिन पेस गरिएको प्रमाणका प्रतिलिपिहरूसमेत माग गरिएको छ ।

‘सूचनाको हकअनुसार प्रमाणका सबै प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउन जाँदा सिडिओ ‘ओके’ भन्दै निवेदनमा तोक लगाउनुभयो,’ नुरेनबीले भने,‘त्यसपछि मलगायत नेपाली कांग्रेसका सभापति महमद साहबुदिनजी जिल्ला प्रशासन कार्यालयमा लगातार तीन चार दिन गयौं, तर प्रतिलिपि दिन आनाकानी गरियो । अन्तिममा सिडिओले नै बोलाएर “व्यक्तिगत नागरिकतासम्बन्धी विवरणका प्रमाणहरू परिवारबाहेक अरू कसैलाई दिन नमिल्ने” भन्दै हामीलाई फर्काउनुभयो ।’

मेयर राजेशमान सिंहले छोरी बनाएर अरूलाई नागरिक दिलाएको कुरा नुरेनबीको निवेदन पछि मात्रै जिल्ला प्रशासन कार्यालयमा तरंगित भयो । किर्तेको वास्तविकता थाहा पाएपछि हाकिमहरूको ठूलो चलखेल भएको समाचार स्रोतको दाबी छ, ‘उनको निवेदनपछि तीन चार दिनको ठूलो चलखेलमा प्रमाण लुकाउने काम भएको हो ।’

नगर प्रमुख सिंहले नागरिकतामा किर्ते गरेको भन्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिनले कारबाही निवेदन दर्ता गराएको लगभग एक हप्ता हुन लागेको छ । श्रेष्ठको नागरिकता प्रकरणबारे छानबिन गर्न गठित समितिले तीन दिनदेखि खोजेको फाइल फेला पार्नसकेको छैन, जसले गर्दा यो प्रकरण झन् पेचिलोसँगै शंकास्पद बन्दै गएको छ ।

कार्यालय स्रोतका अनुसार रुबीनाको नागरिकता लिन पेस गरिएका मुख्य प्रमाणहरू नुरनबीको निवेदनपछि नै गायब पारिएको हो । जसमा आमाबुवाको नाता प्रमाणित हुने जन्मदर्ताको प्रमाणदेखि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गर्नु अगाडि फोटोसहित वडाबाट सिफारिस गरिएको अनुसूची फारम जसमा आमाबुवा वा परिवारका व्यक्तिले दुवै औँठाछापसहितको हस्ताक्षर गरी सनाखत गरेको हुन्छ ।

रुबीना श्रेष्ठको नागरिकताबारे गरिरहेको छानबिनमा अहिलेसम्म ढड्डाबाहेकको अन्य प्रमाण फेला नपरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार छानबिन समितिले गहिरिएर छानबिन गरिरहेको छ । ‘प्रकरणसँग सम्बन्धित मुख्य कागजातहरू अहिलेसम्म भेटिएको छैन, जसले गर्दा अनुसन्धान अगाडि बढ्न नसकेको हो,’ उनले भने ।

समयसीमाभित्र कागजात फेला नपरे त्यसपछि अर्को बाटो अवलम्बन गर्ने तयारीमा प्रमुख जिल्ला अधिकारी भुसाल रहेको बुझिएको छ । केही कर्मचारीले नियतवश नै अनुसूची फर्म बेपत्ता बनाएको देखियो भने हदैसम्मको कारबाही गर्ने तर्खरमा सिडिओ भुसाल छन् । नागरिकता किर्ते प्रकरणको बारेमा पाँच दिनभित्र अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको उनले बताए ।

मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरूसँग खुलेर कुरा गर्न आनाकानी गर्दै आएका छन् । उनले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालको वालमा ‘कुनै प्रश्नको जवाफ समयले दिने गर्छ, जुन जवाफ समयले दिन्छ त्यो एकदम सुन्दर हुने गर्छ,’ लेखेका छन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख छैन । नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोधपछि गृह प्रशासनमाथि दबाब बढ्दै गएको छ ।

बुधवार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुसपछि वीरगन्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दिएका थिए ।

नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनीविरुद्ध वीरगन्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् ।

जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगन्ज महानगरपालिकाका–३ का ५३ वर्षीय मेयर सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई विपक्षी बनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *