देश

पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने, प्रधानमन्त्री प्रचण्डले योगदान स्मरण नगर्ने

काठमाडौं । पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदैछ। पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पौडेलले राष्ट्रनिर्माता शाहको सिंहदरबार मूलगेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गरेका हुन् ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै विभिन्न दलका शीर्ष नेताले उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । वर्तमान राष्ट्रपति, पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, कांग्रेस, एमालेलगायतका दलका अध्यक्षले पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा विज्ञप्तिसमेत निकालेनन् ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड देशको कार्यकारी प्रमुखको भूमिकामा रहेका बेला देशकै विभूतिलाई सम्झन आवश्यकसमेत ठानेनन् ।प्रचण्ड मात्र होइन, माओवादीका कुनै पनि नेताले पृथ्वीनारायण शाहलाईं सम्झेनन् । कतिसम्म भने उनीहरू पृृथ्वीनारायणले नेपाल एकीकरण गरेको नभई राज्य विस्तार गरेको भन्न रुचाउँछन् । पृथ्वीनारायणले बाइसे चौबीसे राज्यलाई एक गरेर नेपाल बनाएका थिए । यदि उनले त्यसो नगरेको भए नेपालको अस्तित्वसमेत रहँदैनथ्यो ।

अन्य विभिन्न चाडबाड, पर्व र दिवसमा विज्ञप्ति र शुभकामना दिइहाल्ने प्रचण्ड र उनको सचिवालय अहिले मौन छ । बरु प्रचण्डको निजी सचिवालयका सल्लाहकार मनोहरि तिमल्सिनाको फेसबुक ह्याक भएको र पैसा उठाउन लागेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

गत वर्ष प्रचण्डले नै पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । त्यसबेला राप्रपा सरकारमा थियो । तर अहिले राप्रपा प्रतिपक्षमा छ । राप्रपाले राजाको एजेन्डा बोकेको र पृथ्वीनारायण शाहको जन्म जयन्तीमा उसले भव्य कार्यक्रम राखेको भएर होला प्रचण्डले विज्ञप्तिसमेत नदिएको ।

आज राप्रपाले भव्य चियापानको आयोजना गरेको छ । जसमा प्रचण्डलाई पनि बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *