काठमाडौं । सत्ता गठबन्धनका शिर्ष चार दलबीच राष्ट्रियसभा चुनावको भागबण्डा भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभाको भागबण्डा टुंगिएको हो ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रिय सभामा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने गरी भागबण्डा भएको हो ।
कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ । यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवारी दिने छ ।
प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुङ्गो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताए ।
नेताहरुका अनुसार उम्मेदवारको क्लस्टरबारे पनि दलहरुबीच करिब करिब सहमति जुटिसकेको छ ।तर, नेकपा एकीकृत समाजवादी भने यो भागबण्डाबाट सन्तुष्ट छैन । तीन सिट मागेको एसलाई २ सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधव नेपाल बैठक सकिनुअघि नै उठेर हिँडेका थिए । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिले सहमति भनिएको कुरामा आफूहरूको सहमति नरहेको बताए ।
माघ ११ गते हुने १९ सिटको निर्वाचनका लागि सोमबार मनोनयन दर्ताको तालिका रहेको छ ।




