राजनीति

कांग्रेसमा शेखरलाई वरिष्ठ नेता दिन मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसमा यतिबेला वरीयताको विवाद देखिएको छ । वरीयताकै विवादका कारण मधेस प्रदेश सम्मेलनमा दुई नेताले असन्तुष्टि जनाए । दोस्रो वरीयता नदिइएको भन्दै शेखर सम्मेलनमै गएनन् । वरीयताबारे सम्बोधन नभएपछि अर्का नेता विमलेन्द्र निधिले मञ्च बहिष्कार गरे ।

अहिले कांग्रेसमा सभापति शेरबहादुर देउवापछि को भन्ने वरीयता विवाद छ । १४औं महाधिवेशनमा कांग्रेसमा वरीयतामा धेरै तल रहेका युवाहरूले जितेपछि गज्याङमज्याङ भएको छ । यद्यपि उपसभापति पूर्णबहादुर खड्का वरीयतामा पनि निकै माथि छन् । उनी यसअघि नै पार्टीको सहमहामन्त्री भइसकेकाले अहिले उनी देउवापछिको वरीयताका स्वाभाविक हकदार हुन् । तर शेखर कोइरालाले दोस्रो वरीयतामा दाबी गरेपछि कांग्रेसमा किचलो सुरु भएको छ ।

महाधिवेशनमा सभापति पदमा हारेकालाई वरिष्ठ नेता दिने प्रचलन कांग्रेसमा छँदै छैन । २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा गिरिजाप्रसाद कोइरालापछिको दोस्रो वरीयता वर्तमान सभापति शेरबहादुर देउवालाई दिइएको थियो । र त्यतिबेला देउवालाई वरिष्ठ नेता दिने लिखित सहमति नै थियो ।

१२ औं महाधिवेशनमा सुशील कोइराला र देउवाबीच सभापति पदमा प्रतिस्पर्धा भयो । सुशीलले जिते, देउवा हारे । पार्टीमा सुशीलभन्दा देउवा वरिष्ठ थिए । त्यति मात्रै होइन, गिरिजाबाबुपछि प्रधानमन्त्री भइसकेका व्यक्ति देउवा मात्रै थिए । त्यसैले सुशीलपछिको दोस्रो वरीयतामा देउवाको विकल्प थिएन ।

१३औं महाधिवेशनमा आइपुग्दा सुशील कोइरालाको निधन भइसकेको थियो । सभापतिमा देउवा र रामचन्द्र पौडेल (हाल राष्ट्रपति) बीच भयो । देउवाले जिते, रामचन्द्र हारे । जतिबेला कांग्रेसमा देउवा र रामचन्द्र समकालीन थिए भने अरु जुनियर । त्यसैले देउवापछिको वरीयतामा रामचन्द्र निर्विवाद थिए । देउवासँग हारेकै कारण रामचन्द्रलाई वरिष्ठ नेता वा दोस्रो वरीयता दिइएको थिएन ।

१४ औं महाधिवेशनमा सभापतिमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भयो । देउवाले जिते, शेखर हारे । पार्टीभित्रको शेखरको वरीयता २०औं नम्बर भन्दा पछाडि थियो । अहिले पनि केन्द्रीय समितिमा उनी २५–२६ नम्बरमा छन् । त्यसैले महाधिवेशनमा सभापतिको उम्मेदवार बनेकै कारण दोस्रो वरीयता दिनुपर्छ भन्नु मनासिव होइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *