काठमाडौं । यतिबेला नेपालको राजनीतिमा दुई पात्र चर्चामा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन । संयोगवश दुवै एउटै विषयमा जोडिएका छन् । तर अलग अलग ढंगले ।
किराँतीले केही दिनअघि ख्रिस्टमस दिवसको अवसरमा आयोजित कार्यक्रममा पादरीझैं भाषण गरे । क्रिस्चियनरी मेसिनरीको पक्षमा उनले बोल्दै जाँदा ताली बज्दै गयो । उनी झन् झन् उत्तेजित हुँदै भाषण गर्न थाले ।
कतिसम्म भने उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिसस क्राइस्टकै झैं प्रस्तुत गरे । प्रचण्डलाई जिसस साह्रै राम्रो लाग्ने उनले बताए । आजको युगमा जिसस क्राइस्ट प्रचण्ड नै भएको ठोकुवा उनले गरे । किराँतीको यो अभिव्यक्तिलाई क्रिस्चियन धर्मावलम्बीले कसरी हेरेका छन्, त्यो छुट्टै कुरा हो । तर यहाँ पनि किराँतीले सीमा नाघेका छन् ।
मन्त्रीको कुर्सी छु भन्ने भुलेर किराँतीले क्रिस्चियनको विरोध गर्नु संविधानविरोधी भएको र त्यस्तालाई देशद्रोहीको आरोपमा जेल हाल्नुपर्ने कुतर्कसमेत गरे । जबकि किराँती जन्मजात क्रिस्चियन भने होइनन् । उनका बाबुबाजेले मुन्धुम पढ्थे । किराँती धर्म अंगाल्थे ।
तर सुदन भने माओवादीमा लागेर पादरी जस्तै बनेका छन् । त्यसैले उनले खुलेआम क्रिस्चियन धर्मको वकालत गरेका हुन् । जुन नेपालको संविधानको विरुद्ध मानिएको छ । यदि उनीविरुद्ध अदालतमा मुद्दा परे किराँतीलाई सजाय हुने निश्चित छ । त्यही भएर अहिले प्रधानमन्त्री प्रचण्ड किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्ने मनस्थितिमा पुगिसकेका छन् ।
सम्भवतः पुस ११ गते किराँतीलाई मन्त्रीबाट हटाइने भएको छ । किराँतीको अभिव्यक्तिविरुद्ध देशव्यापी विरोध भइरहेको छ । भोजपुरमा लगातार चुनाव जितेर इतिहास राखेका किराँती यही काण्डले अर्को चुनावमा पराजित हुने सम्भावना धेरै रहेको बताइन्छ । हिजोसम्म किराँतीलाई राम्रै मान्नेहरू अहिले उनको विरोधमा उत्रिएका छन् । दिनप्रतिदिन उनको छवि ओरालो लागिरहेको छ ।
तर काठमाडौंका मेयर बालेन भने एउटा निर्णयका कारण चर्चामा छन् । उनको लोकप्रियता बढ्दो छ । केही समयअघि उनले काठमाडौं महानगरपालिकाभित्रका मल र सुपरमार्केटमा प्लास्टिकका रुख बनाएर सजाउन नपाउने निर्णय गरेका थिए । उनले भाटभटेनीबाटै त्यसको कार्यान्वयन गरेका थिए । क्रिसमस आइरहेका बेला बालेनको यो निर्णयले धेरैलाई झड्का लाग्यो । अरु सुपरमार्केट र मलले पनि िक्रसमस ट्री धमाधम हटाउन थाले ।
बालेनले शुक्रबार मात्र विद्यार्थीलाई चाडपर्वका नाममा अतिरिक्त पोसाक किन्न बाध्य नपार्न विद्यालयहरूलाई आग्रह गरेका छन् । विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न बाध्य पारे महानगरपालिका शिक्षा ऐन–२०७५ र प्रचलित ऐन–नियमअनुसार दण्ड सजाय हुने जनाइएको छ ।
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र गर्दै तोकिएको पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न आग्रह गरेका हुन् । केही विद्यालयले विभिन्न चाडपर्वको नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारिएको गुनासो प्राप्त भएको जनाएका छन् । क्रिसमसका बेला मेरी क्रिसमस लगाएका पोसाकले स्कुल र सडक भरिन्थे । यसपटक भने त्यसमा न्यूनीकरण आउने सम्भावना धेरै छ ।
विशेषगरी निजी विद्यालयले कृष्णाष्टमी, शिवरात्रि, क्रिसमस, भानु जयन्ती, असार १५, तिज, दसैं, तिहार, माघे संक्रान्तिलगायतका चाडपर्व झल्कने पोसाक लगाएर विद्यालय आउन विद्यार्थीलाई निर्देशन दिने गरेका छन् । फुटबललगायत खेलका टिमको जर्सी लगाउनसमेत विद्यार्थीलाई निर्देशन दिने गरिएको अभिभावकको गुनासो छ ।
चाडपर्वपिच्छे पोसाक खरिद गर्दा हजारौं रुपैयाँ खर्च हुने गरेको अभिभावकको भनाइ छ । बालेनको यो निर्णयले ती सबैलाई एकैपटक प्रहार भएको छ । आगामी दिनमा बालेनको यो निर्णय अरु स्थानीय तहले अनुशरण नगर्लान् भनेर भन्न सकिन्न । किनभने बालेनको सिको धेरै स्थानीय तहका प्रमुख र उपप्रमुखले गर्दै आएका छन् ।




