देश

पूर्व सहकारी रजिष्ट्रार पराजुलीविरुद्ध पक्राउ पूर्जी

लेखनाथ (पोखरा) । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएपछि उनि सम्पर्कबाहिर छन् । पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।

कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार थिए । सोही अवधिमा मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकको बयानमा खुलेको र छानबिनका क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको छ । मित्रमिलन सहकारीको रकम अपचलन अभियोगमा अहिलेसम्म पाँच जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित केही व्यक्ति अझै फरार छन् ।

फरारहरुको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मित्रमिलन सहकारीको सातसय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका छन् । उनीहरुको दाबी २० करोड हाराहारीको छ ।

कास्की प्रहरीले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी र इमेज सहकारीको रकम हिनामिनाविरुद्ध पनि अनुसन्धान गरिरहेको छ । इमेजका पूर्वअध्यक्ष जिबी राईलगायत र इमेजका संस्थापक अध्यक्ष देवबहादुर नेपालीलगायत अहिले फरार छन् ।

सहकारीहरुले बचतकर्ताको रकम हिनामिना गरी फरार हुने क्रम बढ्दा अरु सहकारीले पनि बजारमा विश्वासको सङ्कट झेल्नुपरेको सहकारीकर्मीहरु बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *