राजनीति

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने मन्त्री किराँतीको ‘मिसन’ के हो ?

काठमाडौं । २०४६ सालको परिवर्तनपछि काठमाडौंका चर्चित नेता पद्मरत्न तुलाधर मन्त्री बनेका थिए । काठमाडौंमा उनी लोकप्रिय थिए कि पार्टीको चुनाव चिन्हविना पनि चुनाव जित्ने सामथ्र्य राख्थे ।

सोही कारण एमालेले उनलाई सूर्य चुनाव चिन्ह दिएको थियो । र, तुलाधरलाई एमाले बनाउन सकेको थियो । तर तिनै तुलाधरले सार्वजनिक रूपमा गाई काटेर खानुपर्छ भन्ने अभिव्यक्ति दिए । त्यसपछि तुलाधरको लोकप्रियता यसरी खस्कियो कि उनले कहिल्यै राजनीतिमा उठ्ने मौका पाएनन् । भएको मन्त्री पनि गुमाए । त्यत्तिकै उनको जीवन समाप्त भयो ।

जिम्मेवार पदमा बसेको व्यक्तिको एउटा अभिव्यक्तिले उसको सार्वजनिक व्यक्तित्व नै सकिन्छ भन्ने उदाहरण पद्मरत्न तुलाधर हुन् । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि त्यही बाटोमा हिँडेका छन् । उनले क्रिस्चियन धर्म नमान्ने सबै संविधानविरोधी र देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएपछि उनलाई तत्काल बर्खास्त गर्न चौतर्फी माग उठेको छ ।

बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भनेका थिए–राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’ उनले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशतमध्ये ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने भनेका थिए ।

संस्कृति मन्त्रालय जस्तो मन्त्रालयको कुर्सीमा बसेको मन्त्रीले क्रिस्चियन धर्मको प्रचार प्रसार गरेको भन्दै उनको व्यापक आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा किराँतीलाई पास्टर मन्त्री भनेर विशेषण दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किराँतीलाई तत्काल हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको किराँतीको अभिव्यक्ति अत्यन्तै खेदजनक रहेको जनाउँदै मन्त्री पदमा बस्न नमिल्ने उल्लेख गरेका छन् ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्,’ रविले भनेका छन् । यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पर्यटनमन्त्री किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्रीको पदमा बसेर खुलेयाम क्रिस्चियन मेसिनरीको पक्षपोषण गर्ने, अरु धर्म मान्नेप्रति असहिष्णु देखिने किराँतीको मिसन के हो भन्ने अहिले सर्वत्र चासो उत्पन्न भएको छ । सामाजिक सदभाव बिगार्ने यस्ता मन्त्रीलाई पदमा बसिरहने अधिकार नभएको आमजनताको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *