काठमाडौं।गाजापट्टीमा सञ्चालमा रहेको एक मात्र अस्पताल अल–अहली पनि इजराइली सेनाको आक्रमणपछि मंगलबारदेखि बन्द भएको छ। निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकले अस्पताल भवनका केही भाग नष्ट पार्दै चिकित्सक, मेडिकल स्टाफ र बिरामीलाई गिरफ्तार गरेको बताए।
‘इजराइली आक्रमणबाट अस्पताललाई कामबिहीन बनाएको छ, हामी कुनै पनि बिरामी वा घाइतेलाई लिन सक्तैनौँ’, उनले भने। उनका अनुसार सोमबार इजराइली आक्रमणमा घाइते भएका चार जनाको अल–अहली अस्पतालमा भएको हमलामा मंगलबार मृत्यु भएको छ।
आइतबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अल–अहली अस्पताललाई शल्यक्रियाका लागि अल–शिफा अस्पतालबाट ‘गम्भीर बिरामी’ प्राप्त भइरहेको बताएको थियो। डब्लूएचओले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको बताएको छ।
इजराइली सैनिकहरूले यसअघि गाजामा अन्य स्वास्थ्य संस्थामा छापा मारेका थिए। यसमध्ये गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा पनि हो। अहिले यो अस्पतालले सानो टोलीका साथ न्यूनतम क्षमतामा काम गरिरहेको छ।
गाजामा नागरिकको बढ्दो मृत्यु र अस्पतालहरूको विनाशलाई लिएर इजराइलले व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ।
अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि गाजापट्टीमा इजराइली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पताल प्रभावित भएका छन्।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा १९ हजार छ सय ६७ जनाको ज्यान गएको छ।




