काठमाडौं । हालै संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटाको लेगुवामा स्थानीय महेश राईले मुक्का प्रहार गरे । अहिलेका चर्चित नेतामाथि पदयात्राकै क्रममा मुक्का प्रहारको विषयले सनसनी मच्चायो । तर एमालेले यसलाई अस्वीकार गर्दै आएको छ । उसले ओलीमाथि राईले जाँड खाएर आक्रमण गर्न खोजेको तर आफैै चिप्लिएर लडेको दाबी गरेको छ । एमालेले राईकी श्रीमतीलाई मिडियामा ल्याएर यसको ढाकछोपको प्रयास गरेको छ ।
ओली मात्र होइनन्, नेपालका शीर्ष नेता कोही पनि जनताको निसानाबाट अछुतो रहन सकेका छैनन् । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन सभापति स्व.सुशील कोइराला, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी नेता झक्कुप्रसाद सुवेदीलगायतमाथि सांघातिक आक्रमण भएका छन् । कसैमाथि झापड प्रहार भएका छन् । कोहीमाथि जुत्ता प्रहार, कसैमाथि कुर्सी प्रहार भएको छ ।
वर्तमान प्रधानमन्त्री प्रचण्डमाथि दुई दुईपटक आक्रमण भएको छ । पहिलोपटक २०७६ फागुन १८ मा राष्ट्रिय सभा गृहमा पूर्वमाओवादी कार्यकर्ता रविन तिरुवाले जुत्ता प्रहार गरेका थिए । यस्तै, २०६९ ंमंसिर २ मा भृकुटीमण्डपमा आयोजित चियापानमा पदम कुँवरले झापड हानेका थिए । लगत्तै प्रहरीले समातेर थुनेको थियो । तर पछि प्रचण्डले उनलाई माफी दिएको थियो ।
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल २०५० सालमा कृषिमन्त्री हुँदा राष्ट्रियसभामा जवाफ दिएर फर्किने क्रममा एमाले सांसद गोल्छे सार्कीले गालामा झापड हानेका थिए । जुन विषयले त्यसबेला ठूलो हंगामा मच्चिएको थियो । २०७२ साउन ४ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै गृहजिल्ला रौतहटमा तत्कालीन सद्भावना पार्टीका नेता अनिलकुमार झाको नेतृत्वमा सो पार्टीका कार्यकर्ताले कुर्सी प्रहार गरेका थिए । प्रहरीले सुरक्षा घेरामा नेपाललाई सुरक्षितस्थलमा लगेको थियो ।
यस्तै, २०७३ मंसिर २२ गते पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कास्कीको पृथ्वीनारायण क्याम्पसमा कैलालीका सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका थिए । बाबुरामले माओवादी छाडेलगत्तै उनीमाथि आक्रमण भएको थियो । २०६७ माघ ६ गते एमाले अध्यक्ष रहेका बेला हाल एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई सुनसरी भरौलका देवीप्रसाद रेग्मीले कार्यक्रममै चड्कन हानेका थिए । एमालेको बहालवाला अध्यक्ष नै कुटिएपछि त्यसबेला यसले खुबै चर्चा पाएको थियो । पछि खनालले रेग्मीलाई माफी दिएका थिए ।
२०६९ असोज १३ गते तत्कालीन कांग्रेस सभापति सुशील कोइरालामाथि प्रवेश बस्नेत नाम गरेका एक युवकले आक्रमणको प्रयास गरेका थिए । तर सुरक्षाकर्मीले तत्काल उनलाई रोकेकाले कुनै घटना हुन पाएन । २०६५ जेठ १५ मा तत्कालीन संविधानसभामा एमालेकी सांसद कमला शर्माले वर्तमान कांग्रेस उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई चप्पलले हानेकी थिइन् । खड्का र शर्मा दुवै सुर्खेतका हुन् । २०७४ चैत १ मा नुवाकोटमा पूर्वअर्थमन्त्री डा.रामशरण महतमाथि स्थानीय रामहरि खड्काले पानीको बोतल प्रहार गरेका थिए ।
तत्कालीन माओवादी सभासद् झक्कुप्रसाद सुवेदीलाई काठमाडौंको तीनकुनेमा गोरखाका प्रेमप्रसाद सापकोटाले चिया खुवाइसकेपछि दुई झापड हानेका थिए । सुवेदी त्यसबेला काठमाडौं २ मा एमालेका महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका थिए । तर त्यसबेलै उनी कुटिएपछि हालसम्म पनि गुमनाम छन् ।
नेपाली नेताहरूमाथि यस्तो आक्रमण हुनुमा उनीहरूको बोली र कार्यशैली नै प्रमुख कारण हो । भाषण गर्ने ेबेला आकाशको तारा नै झारिदिन्छु भन्ने तर काम भने केही नगर्ने भएपछि सार्वजनिक कार्यक्रममा नेताहरूमाथि जुनसुकै बेला आक्रमण हुने देखिन्छ । त्यही भएर अहिले नेपालका नेताहरुले पिएसओ लिएर हिँड्न थालेका छन् । तर सबै पार्टीका शीर्ष नेता नै कुटिएको घटनाले नेपालको राजनीति कतिसम्म विकृत भइसकेको रहेछ भन्ने सबैले देखेका छन् ।




