राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिन महन्थलाई राजेन्द्र महतोको आग्रह

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका छन् ।

नेता महतोले शुक्रबार विज्ञप्ति जारी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहटका नेताहरुलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबध भएर प्रतिकारमा उत्रिन आह्वान गरेका हुन् ।

नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले आग्रह गरेका छन् ।

लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि महतोले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मधेस आन्दोलनको क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले शर्माविरुद्ध जन्मकैदको फैसला सुनाएको हो ।

नेता महतोले थरुहट र मधेसी मोर्चाका सबै नेताहरुलाई अधिकार र पहिचानकालागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको षड्यन्त्रको विरुद्धमा सरकारबाट समर्थन फिर्ता गर्न आग्रह गरेका छन् ।


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *