काठमाडौं । नेपालीहरूको महान चाड दशैं आँगनमै आइसकेको छ । अब ११ दिन मात्र बाँकी छ । दशैंमा सबैभन्दा बढी खर्च हुन्छ । जिरामसला, माछामासु वा लत्ताकपडा किन्न पैसा नभई हुन्न । गाउँघर जान तथा टीका लगाइदिएपछि दक्षिणा दिन पनि पैसाकै आवश्यकता पर्छ ।
तर चाडपर्व नजिकिएसँगै सहकारीहरू बन्द भएका छन् । अधिकांश सहकारीले अहिलेदेखि नै दशैंभर कार्यालय बन्द हुने भनेर सूचना टाँसेका छन् । जसकारण आफूले सहकारीमा बचत गरेको रकम निक्षेपकर्ताले फिर्ता पाउन सकेका छैनन् । आफूहरूले बचत गरेको रकम फिर्ता नपाएपछि दशैं कसरी मनाउने भनेर सर्वसाधारण चिन्तामा परेका छन् । त्यसैले यसपटक धेरै मानिसहरू दशैं खल्लो हुने बताउँछन् ।
महिनौं दिन सहकारीमा धाउँदा पनि रकम फिर्ता नगरेको उनीहरूको आरोप छ । खातामा लाखौं रुपैयाँ बचत भए पनि पाँच हजार माग्दा पनि नपाएपछि सर्वसाधारण पीडामा परेका हुन् । सहकारीले बचत फिर्ता नगरेपछि सर्वसाधारण जिरामसला किन्नेसमेत पैसा नभएको बताउन थालेका छन् । त्यही कारण पनि हुन सक्छ दशैं आए पनि बजारमा चहलपहल छैन । पसल सुनसान छ । कुनै व्यापार छैन ।
एकातिर सहकारीले बचत फिर्ता गरेको छैन, अर्कातिर व्यापार व्यवसाय ठप्प छ । मुलुकभर ६५ प्रतिशत सटर खाली भएका छन् । काम गरेको ठाउँमा पनि तलब पाइएको छैन । सरकारी कर्मचारीहरूलाई त सरकारले तलबभत्ता पनि दिन्छ, दशैं पेस्की पनि दिन्छ । तर, सर्वसाधारणले दशैं मनाउन सापटी माग्दासमेत पाएका छैनन् । उनीहरू गाउँघर नफर्किए पनि यतै कसरी दशैं मनाउने भनेर चिन्तित छन् ।
अहिले कोठा, फ्याल्ट र सटर भाडामा लिएर बस्नेहरू तीन महिनादेखि एक वर्षसम्मको भाडा नतिरेको बताउँछन् । खाना खाने पैसा नभइरहेका बेला कसरी कोठा भाडा तिर्ने भन्नेमा उनीहरू चिन्तित देखिएका छन् । सरकारलाई जनताको समस्यासँग मतलब छैन । पहिलापहिलाको दशैंमा नयाँ गाडी, सुन, कपडा, फ्रिजलगायत सामान किन्ने धेरै हुन्थे । अहिले पेट कसरी पाल्ने भन्ने चिन्ता उनीहरूमा छ ।
अभिभावकहरूले खाजा खान दिएको रकम बालबच्चाले खुत्रुकेमा जम्मा गरे । एक–दुई हजार हुनेबित्तिकै त्यो रकम सहकारीमा राखे । सरकारले एक्लो महिला र बुढाबुढीलाई भत्ता दियो । त्यो पैसा पनि उनीहरूले नखाएर आवश्यकता परेको समयमा काम लाग्छ भनेर सहकारीमा राखे । अहिले सहकारीले रकम फिर्ता नगरेपछि बालबच्चादेखि बुढाबुढीसम्मै निराश छन् ।
पछिल्लो समय अधिकांश सहकारीका सञ्चालक र कर्मचारीहरू फरार भएका छन् । प्रहरी भन्छ, ‘हामी बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक खोजिरहेका छौं ।’ स्थानीय तहहरूमा सहकारीको उजुरीको चाङ लागेको छ । सहकारी विभाग बचत फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई पक्राउ गर्न सीआइबीलाई पत्र लेखेको बताउँछ । बचतकर्ताहरूको कहिले गाउँपालिका, नगरपालिकामा लाइन देखिन्छ त कहिले प्रहरी चौकीमा । सहकारी विभागमा पनि उजुरी गर्नेहरूको संख्या बढ्दो छ ।
मुलुकभर दर्ता भएकामध्ये ९० प्रतिशत सहकारी बन्द भएका छन् । सञ्चालनमा रहेका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । सहकारीका सञ्चालक र कर्मचारीहरूको एउटै बहाना हुन्छ, घरजग्गा, गाडी र सेयरमा हाम्रो रकम फस्यो । बजारमा एक वर्ष भयो घरजग्गा, गाडी र सेयरमा मन्दी आएको । यो मन्दी कति वर्षसम्म जान्छ भनेर कसैलाई थाहा छैन । बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहनेहरू यत्तिकै भेटिन्छन्, तर किन्ने कोही छैन ।
यसको मूल्यमा भारी गिरावट आएको छ । अर्थविद् र विज्ञका भनाइअनुसार अब घरजग्गा, गाडी र सेयरको मूल्य बढ्ने छैन । अहिले बजारमा सुनिन्छ कि दशैंपछि धेरै व्यापारी तथा व्यवसायीहरू पलायन हुनेछन् । बेरोजगारीको संख्या झन् बढ्ने छ । कामको अभावका कारण अहिले नै मानिसहरूको आपराधिक क्रियाकलापमा संलग्नता बढ्दो छ । दशैंपछि यसले झन् कस्तो रूप लिने हो भनेर आमनागरिक अहिले चिन्तित छन् । महंगी, बेरोजगारीका कारण अहिले अधिकांश मानिस गाउँघर फर्किनुपर्ने अवस्था निम्तिएको बताउँछन् ।
अहिले जताततै कोठा, फ्ल्याट र सटर खाली छन् । बाटोमा हिँड्दा कोठा खाली छ, सटर खाली छ वा टुलेट लेखिएका पोस्टर यत्तिकै भेटिन्छन् । कतिपय मानिसले भाडा तिर्न नसकेर सामान घरधनीलाई छाडेर हिँडेका छन् । कतिपय घरधनीले भाडा तिर्न नसकेपछि सामान नलिई घर खाली गर्न आग्रह गर्दै आइरहेका छन् । दुई वर्षअघि यो बेला व्यापारीहरूलाई सामान बेचेर भ्याइनभ्याई हुन्थ्यो । पसलमा सामान किन्नेहरूको भीड हुन्थ्यो । तर, अहिले त पसलमा एकजना ग्राहक नछिर्ने तथा बोहनीसमेत नहुने व्यवसायी बताउँछन् ।
सहकारीको बचतकर्ताको बिजोग बनाउँदासमेत सहकारीमन्त्री रञ्जिता श्रेष्ठले बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नतिर चासो दिएकी छैनन् । अहिले पनि टाठाबाठा सहकारीका सञ्चालक तथा कर्मचारीले बचतकर्ताको रकम फिर्ता नगरी विभिन्न आश्वासन देखाएर रकम जम्मा गर्न बाध्य बनाइरहेका छन् ।




