खेलकुद

विश्वकप छनौटमा नेपाली महिला क्रिकेट टिमको लगातार चौथो जित

काठमाडौ । नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत लगातार चौथो जित हासिल गरेको छ । मलेसियामा सोमबार बिहान सम्पन्न खेलमा नेपाली महिला क्रिकेट टिमले कतारलाई ९ विकेटले पराजित गरेको हो ।

कतारको महिला टिमले दिएको ७५ रनको लक्ष्य पछाएको नेपालले १०.३ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि काजल श्रेष्ठले सर्बाधिक ३२ रन बनाएकी थिइन् भने सिता राना मगरले अविजित १६ रन र इन्दु बर्माले अविजित २० रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गरेको कतारले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको थियो ।

यस प्रतियोगितामा नेपालको यो चौथो जित हो । नेपालले यसअघि बहराइन, भुटान र मलेसियालाई पराजित गरेको थियो । जितपछि नेपालको समुह ए मा ४ खेलमा ८ अंक भएको छ । त्यस्तै कतारले भने अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।

समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

प्रतियोगितामा अब नेपालले समुह चरणको अन्तिम खेलमा युएईविरुद्ध सेप्टेम्बर ६ बुधबार खेल्ने तालिका रहेको छ । दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *