देश

सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने, आज विपक्षी दलको निर्णायक बैठक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ। कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा पार्टीको उम्मेदवारी रहने स्पष्ट पारेका छन्।

उनले भने, “लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ, बाँकी समितिका विषयमा विपक्षी दलहरूसँग सल्लाह भइरहेको छ।”

संसदीय समितिका सभापतिमा उम्मेदवारी दिने वा नदिने विषयमा विपक्षी दलहरूबीच छलफल तीव्र बनेको छ। यही विषयमा निर्णय गर्न आज दिउँसो १२ बजे सिंहदरबारमा विपक्षी दलका नेताहरूको संयुक्त बैठक बस्ने तय भएको छ। बैठकले उम्मेदवारी दिने वा नदिने, दिएमा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय टुंग्याउने बताइएको छ।

नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् भने नेकपाका वर्षमान पुन र युवराज दुलाल पनि छलफलमा सक्रिय छन्।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ भने आजै साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ।

संघीय संसद अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्। तीमध्ये प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ तथा दुई वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभातर्फका समितिहरूको सभापति चयन भइसकेको छ भने प्रतिनिधिसभा अन्तर्गतका १० र संयुक्त दुई समितिको सभापति चयन हुन बाँकी छ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिका सदस्यहरू चयन गरेको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले शुक्रबार समितिका सभापतिको निर्वाचन मिति घोषणा गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *