काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर आजदेखि शुरु हुदै छ । आज उद्घाटन खेलमा नेपालले आयोजक जिम्बाबेको सामना गर्दै छ । खेल नेपाली समय अनुसार अपराहन्न १२: ४५ बजेदेखि शुरु हुदै छ ।
त्यस्तै आज समुह ए मा रहेका अमेरिका र वेस्टइन्डिज पनि सोहि समयमा खेल्दैछन् ।
नेपालले आफ्नो दोस्रो खेल असार ५ मा अमेरिकासँग, असार ७ मा वेस्टइन्डिजसँग र समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।
नेपालले विश्वकप क्वालिफायरअघि दक्षिण अफ्रिकामा दुई र जिम्बाबे पुगेर दुई अभ्यास खेल खेलेको थियो । जसमा तीन खेलमा हार बेहोरेको थियो भने अन्तिम खेलमा ओमानविरुद्ध जित हासिल गरेको थियो ।
विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा बिभाजन गरिएको छ । जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दुवै समुहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।
नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
नेट टिभी एपमा नि:शुल्क स्ट्रिम हुने
आजदेखि जिम्बाबेमा शुरु हुने आइसीसी क्रिकेट विश्वकप क्वालिफायरका खेलहरु नेपालमा नेट टिभी एपमा नि: शुल्क प्रशारण हुने भएको छ । जोहरा इन्टरनेशनल प्रालि र एडप्याडले नेट टिभीसँग सहकार्य गरेर नेपाल भित्र नि: शुल्क प्रशारणको व्यवस्था मिलाएका हुन् ।
विश्वकप क्वालिफायरको नेपाल भित्र डिजिटल स्ट्रिमिङका लागि आधिकारिक रूपमा विशेष मिडिया अधिकार जोहरा इन्टरनेसनलले प्राप्त गरेको छ ।
स्टार इन्डिया प्रालि मार्फत आधिकारिक सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले नेपालको अग्रणी मनोरञ्जन र खेलकुद मार्केटिङ फर्म एड प्याड प्रालिलाई विशेष मार्केटिङ र प्रसारण अधिकार प्रदान गरेको बताएको छ ।
एडप्याडले यस प्रतियोगितालाई नेट टिभी एप र वेबसाइटमा नि:शुल्क प्रसारण गर्ने घोषणा गरेको छ । नेट टिभी एपलाई १० लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ र यो नेपालको पहिलो र अग्रणी आइपीटिभी (IPTV) प्लेटफर्म र सबैभन्दा मूल्यवान पे टिभी कम्पनी हो । प्रतियोगिताका सबै ३४ खेलहरू नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिनेछ, जसमा नेपालको भूभाग भित्रका अन्य विदेशी प्रसारणकर्ताहरूमा उपलब्ध हुने छैनन् ।




