खेलकुद

४० करोड निजी लगानीमा एक्स्ट्राटेक क्रिकेट रंगशाला बनाउने कुँवर को हुन् ?

काठमाडौं । नेपालमा अहिलेसम्म गतिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छैन । नेपालले सधैं त्रिविको क्रिकेट खेलमैदानमा प्रतियोगिता गराउँदै आएको छ । नेपालमा जसरी क्रिकेट खेलप्रति चासो र लगाव देखिएको छ, यसको संसारले प्रशंसा गरेको छ । तर भएको त्रिवि क्रिकेट मैदानलाई पनि भौतिक रूपले सम्पन्न बनाउन सकिएको छैन । कतिसम्म भने चार पाँच करोड पर्ने फोड्स लाइटसमेत जडान गर्न सकिएको छैन । दर्शक अहिले भुइँमै बसेर खेल हेर्न बाध्य छन् ।

मूलपानी क्रिकेट रंगशाला बनाउन लागेको नौ वर्ष बितिसक्यो । तर अहिलेसम्म पूण भएको छैन । १५ हजार दर्शकले हेर्न सक्ने क्षमता भएको मूलपानी क्रिकेट रंगशालालाई आईसीसीले भर्खरै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मान्यता दिएको छ । पाँच सातवटा खेल पनि त्यहाँ भइसकेको छ । यो क्रिकेट रंगशाला सरकारकै लगानीमा बनिरहेको हो ।

तीन अर्बको लागतमा बनाउने भनिएको चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने भनेर निकै तामझाम भयो । तर बीचमै छाडेर उनी हिँडे । अहिले त्यो रंगशाला भरतपुर महानगरपालिका आफैंले बनाउने भएको छ ।

अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला बन्ने चर्चाले क्रिकेटप्रेमी खुसी भएका छन् । तिलोत्तमा–१७ पूर्व दरखसवामा पौने पाँच बिघा क्षेत्रफलमा बनाउने भनिएको रंगशालाको सोमबार शिलान्यास गरिएको छ । रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरे ।

२५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निजी लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला हुनेछ । रंगशालामा नौ वर्षदेखि सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका विनोद कुँवरले लगानी गर्ने भएका हुन् । उनले ४० करोड लगानीमा रंगशाला बन्ने जानकारी दिए ।

‘पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको बनाउने र हरेक वर्ष पाँच हजार क्षमता थप्दै चार वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ,’ उनले भने, ‘यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्रसहितको हुनेछ ।’ क्रिकेट मैदानको स्वामित्व समेत एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोदमा निहित रहने बताइएको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्स्टिच्युट हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *