काठमाडौं । एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी दुई दिनदेखि सम्पर्कविहीन छन् । प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई फोन गरेर आफूले सहजीकरण गर्ने बताएका उनी बिहीबार बिहानदेखि नै बेपत्ता छन् ।
प्रहरीले अहिले रायमाझीको खोजीकार्य तीव्र पारेको जनाएको छ । तर उनी कहाँ छन् भन्ने मोबाइल ट्रयाकिङ गर्न सकेको छैन । बिहीबार बिहान प्रहरीले रायमाझीको मोबाइल भैरहवामै रहेको ट्रयाकिङ गरेको थियो । तर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल पक्राउ नगर्न दबाब दिएपछि रायमाझी सम्पर्कविहीन बनेका छन् । प्रहरीले उनलाई आज साँझसम्म सम्पर्कमा नआए फरारको सूचीमा राख्ने जानकारी गराएको छ ।
स्रोतका अनुसार शुक्रबार र शनिबार दुई दिन सार्वजनिक बिदा भएकाले पनि रायमाझी प्रहरी सम्पर्कमा नआएका हुन् । उनी एकैचोटि आइतबार बिहास अदालतमा उपस्थित हुने बुझिएको छ । रायमाझीलाई एमाले नेतृत्वले नै आइतबार मात्र अदालतमा उपस्थित हुन भन्दै शुक्रबार र शनिबार विनाकारण न्यायिक हिरासतमा नबस्न सुझाएको स्रोतले बतायो ।
रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले तीन दिन म्याद थप गरेर हिरासतमा राखिसकेको छ । अब उनलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ । सन्दीपलाई प्रहरीले बुटवलमा पक्राउ गरी काठमाडौं ल्याएर अदालतमा उपस्थित गराएको थियो । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै डेढ करोडको चेक बुझेको फेला परेको छ । उनका बाबु टोपबहादुरले पनि ठगीकाण्डका मुख्य डिजाइनर सन्देश शर्मासँग पटकपटक कुराकानी गरेको र राजनीतिक तहबाट आफूले ढाकछोप गर्ने आश्वासन दिएको प्रहरीले जनाएको छ । सोही कारण सन्देशलाई डेढ वर्षसम्म भारतमै लुकाएर राखिएको र उनलाई उतै सेटल गर्ने तयारी भएको तथ्य खुलेको छ ।
टोपबहादुरले घटनामा संलग्नहरूसँग बसउठ गरेको, ह्वाट्सएपमा कुराकानी गरेको, च्याट गरेको र उनका छोराले डेढ करोडको चेक पनि बुझेकाले प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
यो केसमा टोपबहादुर फस्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी ओली नांगै भएर ढाकछोपको प्रयासमा लागेका छन् । स्रोतका अनुसार ओलीले प्रधानमन्त्री प्रचण्डलाई आइतबार अदालतबाट धरौटीमा छाड्न मिल्ने गरी व्यवस्था मिलाउन दबाब दिइरहेका छन् । त्यसैले ओलीले आजै प्रचण्डलाई भेट्ने तयारी थालेका छन् । सामाजिक सञ्जालमा अहिले ओलीले भ्रष्टाचारीलाई बचाउने महाअभियान थालेको भन्दै उनको आलोचना भइरहेको छ ।




