काठमाडौँ । शनिबारदेखि सुडानमा जारी गृहयुद्धमा मृत्यु हुनेको संख्या १८५ पुगेको छ । सेना र मुलुकको अर्धसैन्य बलबीच भइरहेको युद्धमा सोमबारसम्म १ हजार ८०० घाइते भएका छन् ।
सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका भनेका छन्, ’अवस्था एकदमै अनियन्त्रित छ, युद्धले देशलाई कुन दिशमातर्फ लाने हो भन्न कठिन छ ।’ सन् २०१९ मा सुडान विद्रोह भई अल बसिरको ३० वर्षे शासन ढलेको थियो। सरकार ढलेपछि सेनाका इन्स्पेक्टर रहेका अल बुर्हान संक्रमणकालीन सैन्य परिषद् (टीएमसी) को प्रमुख बनेका थिए ।
त्यसपछि अन्तर्राष्ट्रिय दबाबका कारण सेनाले नागरिकसँग सत्ता साझेदारीको सम्झौता गरेको थियो । त्यसबेला राज्यप्रमुख रहेका बुर्हानले लोकतन्त्र पक्षधर पार्टीसँग सहकार्य गरी चुनाव गराउनु परेको थियो । तर बुर्हान र उनका उपकमाण्डर जर्नेल हेमेतीले सन् २०२१ मा मिलेर कू गरे, नागरिक–सैनिक संयुक्त शासन अन्त्य भयो । त्यसयता सुडानमा निरन्तर नागरिक स्तरबाट विरोध प्रदर्शन हुँदै आएको छ । केही समययता त्यहाँको अर्धसैनिक समूह र सेनाबीच विवाद बढेको छ । शनिबारदेखि उक्त विवादले युद्धको रूप लिएको छ ।




