देश

एमालेमा रावल, बादल, ज्ञवालीसहितका ठूला नेता छैनन् उम्मेदवारको प्रचारमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि टिकट वितरणमा सबैभन्दा चर्को असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ । गठबन्धनका दलहरूबीच भागबन्डाले गर्दा धेरै नेता टिकट पाउनबाट वञ्चित भएका छन् ।

मिनेन्द्र रिजाल, डा.रामशरण महत, महेश आचार्य, डिला संग्रौला, डा.गोविन्दराज पोखरेल, मिन विश्वकर्मालगायतका नेता बाहिरै छन् । उनीहरूमध्ये केही चुनावी प्रचारमा खटिएका छन् भने केही मौन बसेका छन् ।

एमालेमा पनि अध्यक्ष केपी ओलीको एकलकाँटे प्रवृत्तिका कारण हेभिवेट नेताहरूले टिकट पाएनन् । एमालेबाट पूर्वउपाध्यक्ष भीम रावलसहित पदाधिकारी तहका हेभिवेट नेताहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु रिमालले प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट पाएका छैनन् ।

त्यसबाहेक बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीसहित प्रदेशका थुप्रै पदाधिकारी प्रत्यक्ष र समानुपातिक दुवैतिरका टिकटबाट वञ्चित छन् ।
घनश्याम भुसालले त पार्टी नै त्यागे । र, स्वतन्त्र उम्मेदवारी दिए ।

टिकट नपाएका यी नेताहरूमध्ये विष्णु रिमाल मात्र प्रचार प्रसारमा खटिएका छन् । अन्य सबै नेता गुमनाम छन् । अछामबाट प्रतिनिधिसभाका लागि टिकट नपाएपछि असन्तुष्ट बनेका एमालेका पूर्वउपाध्यक्ष रावल २७ असोजमा अध्यक्ष केपी ओलीलाई कटाक्ष गर्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेपछि गृहजिल्ला फर्किएका छैनन् । अघिल्लोपटक उनी वाम गठबन्धनबाट विजयी भएका थिए ।

उम्मेदवारका लागि उनको नाम जिल्ला र प्रदेशबाट सर्वसम्मत सिफारिस आए पनि अध्यक्ष केपी ओलीको एकल निर्णयका कारण टिकट नपाएको उनको आक्षेप छ ।

रावललाई जिल्लाबाट एमाले उम्मेदवारहरूले चुनाव जिताउने अभियानमा काठमाडौंबाट अछाम फर्किन तारन्तार आग्रह नगरेका पनि होइनन् । तर, आफ्ना विषयमाथि अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले पार्टी कार्यालयमा बोलाएर छलफलमार्फत चित्त बुझाएको अवस्थामा मात्र चुनावी अभियानमा सक्रिय हुने मनस्थितिमा रावल देखिएका छन् ।

पछिल्लोपटक पत्रकार सम्मेलन गरेरै रावलले स्वेच्छाले बाहेक आफू चुनावी परिचालनसम्बन्धी पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने प्रस्ट संकेत गरिसकेका थिए ।

एमाले अध्यक्ष ओलीले काठमाडौं १० बाट टिकट लिन आग्रह गरे पनि अन्तिममा ब्याक भएका उपाध्यक्ष बादल पनि उतिसारो चुनावी परिचालनको सार्वजनिक मञ्चमा देखिएका छैनन् । यद्यपि, उनलाई केन्द्रीय निर्वाचन परिचालन कमिटीले अध्यक्ष ओलीसँगै १८ कात्तिकबाट चुनावी प्रचार सभामा खटाउने तयारी गरिरहेको छ । तर, उनी पनि सम्पर्कविहीन छन् ।

उपाध्यक्ष युवराज ज्ञवाली पनि पार्टीले खटाएपछि सक्रिय हुने सोचमा छन् । उनले आफू गृहजिल्ला दाङ र आवश्यकताअनुसार पार्टीले चुनावी परिचालनमा खटाएअनुसार सक्रिय बन्ने मनस्थितिमा रहेको बताए । तर, उनीसँग पनि ओलीले सम्पर्क गरेका छैनन् । अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने आफैं काठमाडौंका विभिन्न क्षेत्रको चुनावी अभियानमा सक्रिय छिन् ।

तर उनको प्रभाव त्यति छैन । त्यही भएर पनि ओलीले शाक्यलाई त्यति भाउ नदिएका हुन् । पाँच वर्षअघि एमालेका नेताहरू जसरी आक्रामक ढंगले चुनावी अभियानमा लागेका थिए । त्यो अहिले देखिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *